एजेन्सी := यूईएफए युरो कप अन्तर्गत राती सम्पन्न अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।
रोमानियास्थित नेशनल एरेनामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। र, पेनाल्टीमा फ्रान्सलाई ५-४ ले हराउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलको यात्रा तय गर्यो।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एम्बाप्पे पेनाल्टीमा गोल गर्न सकेनन् ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । योसँगै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा पुगेको छ भने विश्व विजेता फ्रान्स भने अन्तिम १६ बाट बाहिरिएको छ ।
अब स्विट्जरल्यान्डले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।




















