आज १८ औं राष्ट्रिय धान दिवस।

काठमाडौं := आज राष्ट्रिय धान दिवस । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष आज १८औं राष्ट्रिय धान तथा रोपाइँ महोत्सव मनाइँदै छ । गत वर्ष जस्तै यस वर्ष पनि कोरोना संक्रमणका कारण सुरक्षा मापदण्ड अपनाउँदै रोपाइँ महोत्सव आयोजना गरिने कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नेपालमा विसं. २०६२ सालयता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली वर्षका रूपमा मनाएको थियो । मानो रोपेर मुरी फलाउने दिनका रूपमा यसदिन अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाइँ गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमासमेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

असारमा गरिने धान रोपाइँमा धेरै जनशक्ति अर्थात् खेतालाको आवश्यक पर्दछ । त्यही भएर गाउँघरमा पालैपालो पर्म लगाई रोपाइँ गर्ने प्रचलन रहेको छ । यसरी पालैपालो रोपाइँ गर्दा सामाजिक एकता र सद्भावको बढोत्तरी हुन्छ । असार पन्ध्रका दिन अझ विशेष प्रकारले ठूला–ठूला रोपाइँ गरिन्छ । यस्तो रोपाइँमा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने र खेताला जनहरूलाई मसला र रूमालसमेत बाँड्ने चलन रहेको छ ।

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउँछ भने ग्रामीण भेकमा किसानहरूले आफ्नै तवरले मनाउँछन् । असार १५ का दिन एकफेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ ।

यसवर्ष निर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ । समयमा मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको छ । समयमै पानी परेर किसानलाई खेती गर्न सजिलो भएकाले उनीहरू खुसी छन् । नेपालमा मौसमका आधारमा चैते धान, बर्खे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ ।

चालु आर्थिक वर्षमा नेपालमा १४ लाख ७३ हेक्टर जमिनमा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः एक प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ । उक्त उत्पादनले नेपालको माग धान्ने भए पनि उपभोक्तामा खाने बानी परिवर्तनका कारण चामल आयात हुने गरेको मन्त्रालयको भनाइ छ ।

आगामी दिन धान उत्पादन वृद्धिका कार्यक्रमसँगै उपभोक्तामा खाने बानीको परिवर्तनका लागि पोषणसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई चामल आत्मनिर्भर बनाउने घोषणा गरेको छ । आगामी दिनमा उपभोक्ताको मागअनुसारको धान उत्पादन बढाउने मन्त्रालयको तयारी रहेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे बताउनुहुन्छ ।

विगत वर्षहरूमा धानमा आत्मनिर्भरको घोषणाको कार्यान्वयन हुन नसकेको भए पनि अहिले मन्त्रालय योजनाबद्ध कार्यक्रमका साथ अघि बढेकाले अब त्यस्तो नहुने घिमिरेको दाबी छ । हाल धानको बिउ र चामल गरी हरेक वर्ष अर्बौं रुपैयाँको आयात हुँदै आएको छ ।

रासायनिक मलको सहज तथा सुलभ उपलब्धता र उन्नत बिउविजनको प्रयोग मात्रले १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने भन्दै आगामी आर्थिक वर्ष २०७८÷०७९ मा संघ, प्रदेश सरकार र स्थानीय तहमार्फत सञ्चालन हुने गरी सातवटै प्रदेशका २३१ स्थानीय तहमा बिउविजन आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।