असारे पन्ध्रको रौनकता हराउँदै।

‘मजाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्र्यौं’, तानसेन अर्गेलीकी देवकला जिसीले पुराना दिनहरू सम्झँदै भन्नुभयो । ‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । असार पन्ध्र गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुँदैनथ्यो ।’ गुल्मी मुसीकोटका पदम पाण्डेलाई असार १५ गते बाउसे गर्न जाँदाको क्षण ताजै छ । ‘हिलोमा चलेर आउँदा लोद परी फर्किन्थ्यौँ, तर दही चिउरा खाएपछि र अरूले रमाइलो गरेको देखेपछि पीडा र थकान भुल्थ्यौँ उहाँ भन्नुहुन्छ । जिसी र पाण्डेको जस्तै असार पन्ध्र गतेकोे अनुभव धेरैको छ ।

आजकै दिन ‘छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फूल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आस हुन्छ । पहिले-पहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर, समयक्रमसँगै रोपाइँ गीत हराउन थालेका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एक-अर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । तर, हिजोआज आधुनिकतासँगै असारे गीतका ती भाकाहरू विस्तारै हराउँदै गएका छन् ।

खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका पनि बिरानो बन्दै गएको बुढापाकाहरू बताउँछन् । असार लागेसँगै किसानहरू रोपाइँमा जुटिसकेका छन् । तर, रोपाइँमा उहिलेको जस्तो रौनकता कतै भेटिँदैन । रोपार र बाउसेहरूले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि कतै देखिँदैन । असारे भाका पनि कतै सुनिँदैन । खेत हिल्याउन, दाँदे लगाउन र रोप्नसमेत आधुनिक कृषि उपकरणको प्रयोग हुन थालेपछि रोपाइँको रौनकता असार पन्ध्रको धान दिवसमा सीमित भएको छ ।

कुनै बेला असार लागेसँगै असारे गीतहरू गुञ्जायमान हुने पाल्पा र गुल्मीका फाँटहरूमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली हराउदै जाँदा रोपाइँको रौनक नै हराउँदै गएको हो । केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसँगै हलो,जुवा, हलगोरु, बाउसे र रोपाहारहरू खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको छ । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल, गोरु र बाउसेको अभाव देखिएको किसानहरू बताउँछन् ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुने गर्दछन् । किसानहरू दिनभर हिलोमा रोपाइँ गरी आफ्ना दुःख पीडा भुलेर रमाइलो गर्दै दही चिउरा खाने गर्छन् । रोपाइँ गर्ने समयमा खाइने चिउरा पनि धानबाटै बन्ने हुनाले यसको बेग्लै महŒव छ । रोपाइँका बाउसे र रोपाहारहरू एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख-कष्ट र थकाइ बिर्सन खोज्छन् । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको आवाजसँगै असारे भाका गुञ्जँदा सुनिरहुँ जस्तो हुन्छ तर नयाँ पुस्ताका लागि अहिले असारे भाका इतिहास बन्न थालेको छ ।