ए-डिभिजन लिग असोज पहिलो साता गर्ने प्रस्ताव।

काठमाडौं := कोरोना महामारीका कारण रोकिएको ए डिभिजन लिग असोज पहिलो सातादेखि सुरु गर्ने प्रस्ताव गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने प्रस्ताव गरेको हो ।

भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखे पनि महामारीका कारण प्रभावित भएको हो । एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको छ ।

यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ । असोजको पहिलो हप्ता ए डिभिजन लिग सुरु गरेर फागुनसम्म पु¥याउने एन्फाले प्रस्तावमा उल्लेख गरेको छ । एन्फाले अन्तिम मिति भने ए डिभिजनका क्लबसँग छलफल गरेर तय गर्ने जनाएको छ ।

लिग सञ्चालनका सम्बन्धमा एन्फाले सोमबार छलफलसमेत गर्ने भएको छ । उक्त छलफलले मितिको विषय टुंग्याउनेछ । घरेलु लिगका लागि खेलाडी दर्ता प्रक्रिया भने भदौमै सुरु हुनेछ । महामारीका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन सकेको थिएन ।