काठमाडौं := आन्दोलनरत पुनर्निर्माण प्राधिकरणका प्राविधिकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आइतबार प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाईअन्तर्गतका प्राविधिकबीच सातबुँदे सहमति भएपछि उनीहरूले आन्दोलन फिर्ता दिएको प्राधिकरणले जनाएको छ । सहमतिमा जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाअन्तर्गत रही कार्यरत स्व. इञ्जिनियर राजा साहको कामकाजकै दौरानमा मृत्यु भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाईले पहल गर्ने उल्लेख छ ।
साथै प्राधिकरणअन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारी, सामाजिक परिचालक, डकर्मीसमेतको कार्य अनुभवसहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने, रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने सहमति पनि भएको छ।
त्यस्तै प्राविधिकले पाउनुपर्ने सञ्चार, यातायात खर्च र स्थानीय भत्ता चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि नै नियमअनुसार उपलब्ध गराउने र प्राधिकरणअन्तर्गत रही कार्य गरेका प्राविधिकलाई भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने ‘रिफ्रेसर ट्रेनिङ’ को व्यवस्था गरिने, सरकारले लिएको विपद् जोखिमबाट सुरक्षित नेपालको महाअभियानको १० वर्षे लक्ष्यमा समाहित हुने गरी प्राधिकरणअन्तर्गतका प्राविधिकलाई प्राथमिकता दिन प्राधिकरणले पहल गर्ने सहमति भएको छ ।




















