एजेन्सी := घरेलु टोली इंग्ल्याण्डले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । कार्डिफमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ८९ रनको जित निकाल्दै इंग्ल्याण्डले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
इंग्ल्याण्डले दिएको १८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा पाँच बलमा अलआउट भएर ९१ रनमात्र बनाउन सक्यो । श्रीलंकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २०, ओसडा फर्नान्डोले १९ र निरोशन डिक्वेलाले ११ रन जोड्नुभयो ।
श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्याण्डका डेभिड विलीले ३ विकेट तथा साम कुरानले २ विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।
इंग्ल्याण्डका डाविड मालनले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै जोनी बेयस्र्टोले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुका साथै लियाम लिभिङस्टोनले १४ रन जोड्नुभयो । श्रीलंकाका दुश्मन्था चामिराले ४ विकेट लिनुभएको थियो ।
यसअघि पहिलो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ८ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई डीएल पद्धतिका आधारमा ५ विकेटले हराएको थियो ।




















