काठमाडौं := गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनमा कोचमा रूपमा गायक राजेशपायल राई प्रवेश गर्नुभएको छ । कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि केही हप्ताका लागि उहाँको ठाउँमा राईलाई लिइएको हो । शुक्रबार प्रशारण भएको एपिसोड २२ बाट राई कोचका रूपमा उपस्थित हुनुभएको हो ।
दीप श्रेष्ठलाई जेठको पहिलो साता कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि दुई साता लामो अस्पताल बसाइपछि घर फर्किर्नुभएको थियो । संक्रमणमुक्त भए पनि कोच दीपकले अझै केही साता आराम गर्नुपर्ने भएकाले कोचमा राजेशपायलको प्रवेश भएको हो । एपिसोड २२ मा एक भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले आफ्नो भाई राजेशलाई कार्यभार सुम्पन पाउँदा खुशी लागेको बताउनु भएको छ ।
उहाँले कुर्सी गरुङ्गो हुने भएकाले सम्हालेर बस्न आग्रह गर्नुभएको छ । आफूले गर्ने निर्णय र टिप्सहरू नडराइकन दिन दीपले राजेशलाई भन्नुभएको छ । त्यस्तै आफूलाई केही हप्ताका लागि आराम गर्न दिएकोमा दीपले ‘भ्वाइस अफ नेपाल’ टिमलाई धन्यवादसमेत दिनुभएको छ । दीपको ठाउँमा कोचको जिम्मेवारी सम्हानु भएको राईले श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शोमा अहिले ‘नकआउट राउण्ड’ चलिरहेको छ ।




















