काठमाडौं := नेपाली कांग्रेसको भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशनको मिति तयभएसँगै पुर्वनिर्धारित समय भित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी क्रियाशील सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ ।
कांग्रेसको पार्टीभित्रकोे आन्तरिक समायोजनलगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिनुभयो ।
आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्व-पदाधिकारीहरू सम्मिलित बैठक कार्यतालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफल अघि बढेको उहाँले बताउनुभयो । पार्टीको वडादेखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व-शर्तको रूपमा रहेका क्रियाशील सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रित भएर छलफल भएको पनि उहाँले जानकारी गराउनुभयो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजकसमेत रहनुभएका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यताको नवीकरण र नया इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजनसम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिनुभयो ।
पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बर्दियामा पार्टी कार्यालयमा तालाबन्दी भएकाले र लामोसमयसम्म समायोजनसम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती सबै जिल्लामा अहिले क्रियाशील सदस्यता वितरणको काम भइरहेको नेता लेखकले जानकारी दिनुभयो । नेता लेखकले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।
नेता लेखकले दुई जिल्लाबाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरू आएका छन् । ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउदै लगिएको बताउनुभयो । क्रियाशील सदस्यहरू नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्व-सन्ध्यामा क्रियाशील सदस्यताको विषय भएको हो । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुंगिन नसकेको हो ।
यता, महाधिवेशन नजिकएसँगै कांग्रेसमा सभापतिको दौडमा आधा दर्जनभन्दा बढी नेता रहेका छन् । नेतृत्वको दौडमा बहालवाला सभापतिसहित वरिष्ठ नेताहरू रहेका छन् । हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेताहरू आकांक्षी देखिनुभएको छ ।
महाधिवेशन कार्यतालिकाअनुसार कांग्रेसका देशभरका क्रियाशील सदस्यहरूको टुंगो छानबिन समितिले असार २० गतेभित्र लगाउनुपर्नेछ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या १० लाख पुग्दैछ । अहिलेसम्म आठ लाख क्रियाशील सदस्यको सूची केन्द्रीय कार्यालयको सफ्टवेयरमा इन्ट्री भइसकेका छन् ।




















