महाधिवेशन आयोजक कमिटी भंग गर्दै एमाले अध्यक्ष केपी ओली।

जेठ २ को आधारमा दललाई अघि बढाउने तयारी, असार १६ गते बस्दै आयोजक कमिटी बैठक

काठमाडौं := सर्वोच्च अदालतले एकपछि अर्को निर्णय बदर गरेपछि कमजोर बन्दै जानुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टी विभाजनको संघारमा पुगेपछि आफ्नै निर्णयबाट पछि हट्ने तयारी गर्नुभएको हो ।

सर्वोच्चको फैसलापछि पुनर्जीवित भएको नेकपा एमालेको केन्द्रीय कमिटी विघटन गरी उहाँले १० औं महाधिवेशन आयोजक कमिटी बनाउनुभएको थियो । तर, नेपाल पक्षले तीव्र विरोध गरेपछि अहिले ओलीले सो कमिटीलाई भंग गर्ने तयारी गर्नुभएको हो । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताले पार्टीलाई एक बनाएर अगाडि बढाउने उद्देश्यले आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी र पदाधिकारीलाई पुनर्जीवन दिने निर्णय भएको हिमालय टाइम्सलाई बताउनुभयो ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालपक्ष एमालेका कुनै पनि बैठकमा सहभागी भएका छैनन् । ओली पक्षले एकलौटी पदाधिकारीहरूलाई जिम्मेवारीविहीन बनाएको भन्दै नेपाल पक्ष आक्रोशित बनेको छ । नेपाल पक्ष अर्को पार्टी गठनसम्मको तयारीमा जुटेपछि ओलीले केन्द्रीय कमिटीलाई पुनः ब्युँताउने तयारी गर्नुभएको हो ।

असार १६ गते आयोजक कमिटी बैठक बोलाइएको छ । त्यसपछि १५ गते स्थायी कमिटी बैठक बस्नेछ । स्थायी कमिटी बैठकबाट नै महाधिवेशन आयोजक कमिटी भंग भएको निर्णय गर्न सक्ने सम्भावना रहेको स्थायी कमिटीका एक सदस्यले बताउनुभयो । १६ गते महाधिवेशन आयोजक कमिटीको बैठकबाट समेत निर्णय अनुमोदन गरेर पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढाउने उहाँले बताउनुभयो ।

नेता सुवासचन्द्र नेम्वाङले पनि आयोजक कमिटीका विषयमा पुनर्विचार गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । एमालेमा नेपाल–खनालपक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएको छ । नेपाल समूहले राख्दै आएको मागअनुसार अगाडि बढ्न सो निर्णय गरिन लागेको बताइएको छ ।

यस्तै, नेता विष्णु रिजालले पार्टीमा महाधिवेशन आयोजक कमिटी संरचना नरहने बताउनुभएको छ । १६ गते बिहान ११ बजे बस्ने आयोजक कमिटी बैठकले मौजुदा संरचना खारेज गरी साबिकको केन्द्रीय कमिटीमा फर्कने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब नेकपा (एमाले)मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साबिक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ ।’

१६ गतेको बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव पदाधिकारी रहने व्यवस्थाअनुसार नै निर्णय गर्न सक्ने बुझिएको छ । उक्त निर्णयपछि पनि नेपाल पार्टीमा नफर्किए फरक ढंगले अगाडि बढ्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यस्तै, १६ गतेको बैठकले विभागहरू पनि बनाउने निर्णय गर्ने बताइएको छ । नवौँ महाधिवेशनको विधानको धारा ५९ (१) अनुसार पार्टी नियमावलीमा ३१ वटा विभाग रहने उल्लेख छ । नियमावलीअनुसार एमालेमा ३० भन्दा बढी विभाग रहेका छन् । मंसिरमा निर्वाचनको मिति तय भएपछि पार्टीको महाधिवेशन तोकिएको समयमा हुने सम्भावना नभएकाले विभागहरू बनाउने सल्लाह नेताहरूबीच भएको छ ।

माधव नेपाल फर्किने सम्भावना कति ? 

ओलीले असार १६ मा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने घोषण गरे पनि नेपाल फर्किने सम्भावना भने सकिँदै गएको छ । सुरुमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडानमा रहेको नेपाल समूह अहिले संसद् विघटनविरुद्ध सर्वोच्चमा समेत पुगेको छ । यस्तै, कर्णाली प्रदेशका सांसदहरूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध भ्याकेटमा जाने निर्णय ओली पक्षले गरेपछि नेपाल समूह झन् आक्रोशित बनेको थियो । कर्णाली प्रदेशका एमाले सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयले वैधता नपाउने आदेश दिएको थियो । त्यसविरुद्ध एमालेको ओलीपक्ष भ्याकेट लिएर सर्वोच्च पुगे पनि सर्वोच्चले त्यसअनुसार निर्णय दिन अस्वीकार गरेको छ ।

यसअघि ओलीले ६ बुँदे एकता प्रस्ताव अगाडि सारे पनि नेपाल पक्षले सर्वोच्चमा पुगेको हस्ताक्षर फिर्ता लिन नसकिने बताइसकेको छ । स्वयं नेपालले पनि ओलीसँग मिलेर जान नसकिने बताउनुभएको छ । शनिबार नेपालले गठबन्धनलाई धोखा नदिने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । नेपालसमेतका नेताहरू पार्टीमा नफर्किए पनि नेपाल पक्षबाट केही नेताहरूलाई फिर्ता बोलाउने आशाका साथ ओलीले सो निर्णय गर्न लाग्नुभएको चर्चा पनि चल्न थालेको छ ।

नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्नसमेत प्रस्ताव आएको उल्लेख गर्नुहुँदै आफू गठबन्धनलाई धोका दिने पक्षमा नरहेको बताउनुभएको थियो । तर, दोस्रो तहका नेताले नेपाललाई समान वरीयताको अध्यक्ष बनाएर भए पनि विवाद मिलाउने मत राख्न थालेका छन् । दोस्रो पुस्ताका नेताहरू एक हप्ताभित्र पार्टी विवाद मिल्ने र नेपाल पनि पार्टीमा फर्किने बताउन थालेका छन् ।

एकताका लागि प्रयत्नशील : ज्ञवाली

एमालेका प्रवक्ता तथा ओली पक्षका नेता प्रदीप ज्ञवालीले एकता जोगाउनका लागि अन्तिम समयसम्म प्रयत्नशील रहेको बताउनुभयो । अहिले पनि नेपाल पक्षका नेताहरूसँग एकता जोगाउन औपचारिक र अनौपचारिक वार्ता भइरहेको उल्लेख गर्नुहुँदै उहाँले छलफलले सकारात्मक नतिजा आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

एकताको आशा अझै नमरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जनताका चाहनाअनुसार उहाँहरूको क्रियाकलाप मेल खाइरहेका छैनन् । जनस्तरबाट पनि गम्भीर टीकाटिप्पणी भइरहेको छ । हामी प्रयत्नशील छौँ । आशा मारेका छैनौँ । तर, नेताहरू के गर्नुहुन्छ, आन्दोलन र राजनीतिक जीवनलाई कुन बाटोमा लैजानुहुन्छ, त्योचाहिँ भविष्यले बताउला ।’

यस्तै, उहाँले एमालेको समस्यामा ‘खुचिङ’ नगर्न पनि आग्रह गर्नुभएको छ । सर्वोच्च अदालतको आदेशले एमालेको महाधिवेशन कमिटी अस्वीकार गरेको थियो । सोही विषयमा अनेक टीका–टिप्पणी भइरहेका बेला उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

सर्वोच्चको निर्णय त्रुटिपूर्ण भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘फ्लोर क्रस गर्दा पनि कारबाही भएन भने मुलुकको दलीय प्रणाली टिक्छ ? हाम्रो चिन्ताको विषय यही हो । अरू दलहरूलाई एमालेमा परेको समस्यामा खुच्चिङ नगर्न म आग्रह गर्छु ।’