भारतमा हुने भनिएको विश्वकप यूएईमा सर्‍यो।

एजेन्सी := भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता यूएईमा हुने भएको छ । भारतमा कोरोना भाइरसको महामारी कायम रहेपछि विश्वकप यूएईमा आयोजना गरिने भएको हो ।

क्रिकेट वेबसाइट क्रिकइन्फोले विश्वकप यूएईमा हुने पक्का भएको जनाएको हो । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआई पनि योजना ‘बी’ अन्तर्गत विश्वकप यूएईमा गराउन राजी भएको बताइएको छ ।

१६ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर १७ बाट सुरु हुने बताइएको छ । फाइनल खेल नोभेम्बर १४ मा हुनेछ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट सकिएको दुई दिनपछि विश्वकप सुरु हुने बताइएको छ  ।

कोरोनाका कारण आईपीएलका बाँकी खेलहरू यूएईमा हुँदैछन्। आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने क्रिकइन्फोले जनाएको छ ।

प्रतियोगिता स्थगित हुनुअघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले आठ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।