काठमाडौं := जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट हुनुभएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले सोनियाले ओलम्पिक खेल्ने पक्का भएको जानकारी दिनुभयो । बज्राचार्यका अनुसार सोनियाले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा स्थान बनाउनुभएको हो ।
गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली सागमा कास्य पदक जित्नुभएकी सोनिकाले महिला ४८ केजीमुनि समूहमा कास्य जित्नुभएको थियो । उहाँ विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडीसमेत हुनुहुन्छ । दुई वर्षअघि मोरक्कोमा भएको च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौलसमूहमा मोजाम्बिकी खेलाडी मुनिमी जेनीलाई बाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेर इतिहास रच्नुभएको थियो ।
सोनियाले ओलम्पिकमा छनोट हुन पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाँले आफूले सक्दो उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि गौरवपूर्ण प्रदर्शन गर्ने प्रतिबद्धता जनाउनुभयो । सोनिया टोकियो ओलम्पिकका लागि छनोट हुने पाँचौं नेपाली खेलाडी हुनुहुन्छ । यसअघि सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोचीचन्द्र पार्कीले खेल्ने पक्का भइसकेको छ ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाटै सुरु हुनेछ । जसमा फुटबल र बेसबल छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।



















