काठमाडौं := करिब एक साताअघि मात्रै मैले पनि ‘क्लब हाउस’ मोबाइल एप मोबाइलमा डाउनलोड गरें । विशेषगरी सामाजिक सञ्जालमा क्लब हाउसबारे स्टाटस, चर्चा चलिरहँदा जिज्ञासा भएर डाउनलोड गरेर ‘साइन अप’ गरें । बुझ्दै जाँदा ‘अडियो ड्रप’ एप रहेछ । अर्थात् अडियोको माध्यममार्फत् विभिन्न विषयमा विभिन्न साथीहरूसँग कुरा गर्न तथा कुरा गरेको सुन्न मिल्ने रहेछ । मेरा लागि केही मिनेट यसभित्रका ‘फङ्सन’ बुझन् समय लाग्यो । तर, बुझिसकेपछि म पनि झण्डै एक घण्टा त्यसमै बिताएँ ।
मोबाइलमा सुरक्षित रहेका नम्बरहरूका आधारमा धेरै साथीहरूलाई ‘अटो फ्लो’ गरेकाले चिनेजानेका साथीहरूले छलफल गरिरहेको पाएँ । सुन्दै जाँदा मज्जा आयो र ज्ञानबर्धक कुराहरू पनि भेटें । अहिले पनि दैनिक केही मिनेट मैले क्लब हाउसमा बिताउने गरेको छु । यो त मेरो अनुभव भयो । प्रायः अहिले नेपालमा युवावर्गहरू यो एपमा समय व्यतित गरिरहेको पाइन्छ । विश्वभरिका मानिसहरू आ–आफ्नो समूह बनाएर विभिन्न शीर्षकमा छलफल गरिरहेका हुन्छन् । यो एपको मुख्य विशेषता भनेकै यही हो । यो एपमा तीन किसिमका भर्चुअल रुम छन्– ओपन रुम, सोसियल रुम र क्लोज्ड रुम ।
यो सामाजिक सञ्जाललाई पहिलोपटक सन् २०२० मार्चमा अल्फा एक्सप्लोरोसन कम्पनीका पल डेभिसन र रोहन सेथले आईओएस भर्सनमा सार्वजनिक गर्नुभएको थियो । आईओएस भर्सनमा मात्र सीमित गरिएकाले त्यतिबेला प्रयोगकर्ताको संख्या बढ्न सकेन । प्रयोगकर्तामा खासै वृद्धि हुन नसकेपछि यो एपलाई एन्ड्रोइड भर्सनमा पनि ल्याइयो । त्यसपछि भने यसका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भयो ।
अहिले नेपालका सेलिब्रेटीदेखि थुप्रै युवाहरू यो एपको दैनिक प्रयोग गर्छन् । विशेषगरी विभिन्न बुद्धिजीवी, सेलिब्रेटी, पत्रकार, प्रहरी प्रशासनलगायतले पनि यसको दैनिक प्रयोग गरिरहेको देखिन्छ । नायिका केकी अधिकारीले प्रायः यो एपमार्फत् विभिन्न विषयमा बहस गरिरहनुभएको थियो । डेढ साताअघि मात्रै विपश्यनाको अनुभव शीर्षकमा केही घण्टा आफ्नो अनुभवसँगै उक्त विषयबारे जानकारी गराउनुभएको थियो । जुन ग्रुपमा झण्डै हजारजनाले सुनेर बसेका थिए । यस्तै ‘अपराधबाट कसरी जोगिने, सफल अनुसन्धान कसरी हुन्छ ?’ शीर्षकमा केही दिनअघि मात्रै प्रहरी प्रशासनकै सहभागितामा पत्रकार केपी ढुंगानासँगै अन्य केही पत्रकारहरूले बहस गर्नुभएको थियो । उक्त गु्रपमा प्रहरीले गर्ने अनुसन्धानको विषयमा जोकोहीले प्रश्न गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।
यस्तै नेपाली चलचित्र निर्देशनको विषयमा पनि चलचित्रकर्मीहरूले बहस गरिरहेका हुन्छन् । यस्तै पछिल्लो समय विवादमा तानिएको टेलिशृंखला ‘जुठे’को कथाबारे कलाकार इस्टु कार्कीलगायतले एक गु्रप बनाएर छलफल गर्नुभएको थियो । यस्तै एक साताअघि मात्रै सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस)को विशेष उपस्थितिमा अभियन्ता अर्जुन भुसाललगायत युवाहरूले देश विकासका लागि के गर्न सक्छन् भन्ने विषयमा अन्तक्र्रिया चलाइएको थियो । यसरी नै दैनिकरूपमा अहिले विभिन्न विषयमा छलफल भइरहन्छन् । यो क्लब हाउसको राम्रो विशेषता हो । हरेक कुरामा केही न केही विकृति हुन्छ भनेझैं क्लब हाउसमा पनि केही युवाहरूको समूहले ‘अठार प्लस’ नाम दिएर यौनका विषयमा अपाच्य शब्द प्रयोग गरेर बसेको पनि पाइन्छ ।
यस्तै प्रहरीको बर्दी प्रयोग गरेर विभिन्न ‘फेक आईडी’ सञ्चालन पनि भएको देखिन्छ । केही दिनअघि मात्रै नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुर चाँगुनारायण नगरपालिकाका–२० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको थियो । उनले प्रहरीको बर्दी प्रयोग गरेर गु्रप सञ्चालन गरिरहेका थिए ।



















