‘समाजसेवा र सहयोग प्रचार,प्रसार नगरी गर्दा हुन्न र?’

काठमाडौं := कुनै महामारी होस् या बाढी प्रकोप, यस्ता विपत्तिको समयमा अग्रसर भएर सहयोगमा जुट्ने कलाकारहरूको समाचार निकै चर्चाको विषय बन्छ । कतिपय कलाकारले कोरोना भाइरसको महामारीको समय सुरु भएदेखि विभिन्न सहयोगको अभियान चलाइरहेका छन् । कतिपय निकै चर्चित कलाकारहरू भने सामाजिक सञ्जालमा पनी एक स्टाटस राखेको देखिँदैन ।

कतिपयले सामाजिक सञ्जाल तथा भिडियामा प्रचार गरेर समाजसेवा गर्नु पर्दैन भन्छन् त कतिपय कलाकार एक कार्टुन चाउचाउ सहयोग गरेर पनि समाचार बन्न चाहन्छन् । यसैबीच पछिल्लो समयको कोरोनाको महामारी र बाढी प्रकोपका कारण देशले भोग्नुपरेको विपत्तिमा केही कलाकारहरू मौन बसेको भन्दा टिकाटिप्पणी चलिरहेको छ । विशेषगरी नेपाली चलचित्र क्षेत्रका महँगा र चर्चित मानिने कलाकारहरू नै मौन बसेकाले कतिपय दर्शकले नै देशलाई पर्दा कलाकारहरू अगाडि सरेनन् भन्दै चर्चा गरिरहेका छन् ।

यसैक्रममा नायक प्रदीप खड्काले यस विषयमा जवाफ दिनुभएको छ । आफ्नो सामाजिक सञ्जालमा एक कोल्ड ड्रिक्सको विज्ञापन गर्दै तस्वीर पोष्ट गरेपछि अहिले यसलाई लिएर निकै छलफल चलिरहेको छ । सामाजिक सञ्जालमा कोल्ड ड्रिक्सको प्रचार किन गरेको भनेर प्रश्न सोझ्याउने केही प्रयोगकर्ता छन् भने केहीले प्रदीपले विज्ञापन गर्ने वित्तिकै प्रयोग गर्नैपर्छ र भनेर उहाँको बचाउ पनि गरेका छन् । तर, अधिकांश प्रश्न सोध्नेहरूलाई प्रदीपले जवाफ फर्काएको देखिन्ट । प्रदीप र उनको तस्वीरमा प्रतिक्रिया दिनेहरूबीच सवाल-जवाफ नै चलेको देखिन्छ ।

केही दर्शकले यस्तो समयमा जनतालाई सहयोग नगरी उल्टै कोल्ड ड्रिक्सको प्रचार गरेर पैसा कमाउन तल्लिन भएको भन्दै उहाँको आलोचना गरेका छन् । महामारीको समयमा पनि जनताको साथमा नदेखिएको भन्दै प्रदीपको आलोचना भएको छ । प्रदीपले यसमा जवाफ दिँदै लेख्नुभएको छ, ‘अक्षरस जाने हो भने भगवानले सहयोग गर्ने हो, भवगानलाई सहयोग आवश्यक पर्छ ? भावानात्मक रूपमा जाने हो भने आवश्यक पर्नेलाई पक्कै सहयोग गर्नुपर्छ । विना प्रचार गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ ?’

प्रदीपले अगाडि लेख्नुभएको छ, ‘आफ्नो सामथ्र्यभन्दा माथि सहयोग गर्न जरुरी छ ? कसैलाई व्यक्तिगत रूपमा सहयोग जुटाउन मैले अपिल गर्दा मद्धत बढ्छ भने म त्यो गर्छु र गरेको पनि छु । यसलाई म प्रचारभन्दा पनि माध्यमको प्रयोग मान्छु ।’ प्रदीपले आफू राष्ट्रमा परेको भीषण परिस्थितिमा आफू घरमा लुकेर नबसेको जवाफ दिनुभएको छ ।

प्रदीपले लेख्नुभएको छ, ‘भारतमा कोभिडले चरम आतंक मच्चाउँदा नेपाली चलचित्रका लागि योगदान दिन तल्लिन भएरै काममा लागेको छु । भाइरस आज होला, क्यान्सर पहिलादेखि नै थियो । भ्याक्सिन बनाउने ठूलो होला तर क्यान्सरको औषधि पत्ता लगाउने कम हुँदैनन् । ‘प्रेमगीत ३’ मार्फत नेपाली चलचित्र क्षेत्रको क्यान्सरको उपचार पत्ता लागोस् । प्रचार नगर्दा योगदान मूल्यांकन हुन्न भने मेरो भन्नु केही छैन ।’