[ सन्दीप पौड्याल ]
ओलीको शासकीय अहंकार र स्वेच्छाचारिताले संविधान संकटमा- देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीबाट निरन्तर असंवैधानिक काम भएकाले त्यसलाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । बिहीबार बानेश्वरस्थित संघीय संसद् भवनको लोत्से हलमा सम्पादकहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रिय हितको संरक्षण, लोकतन्त्रको रक्षा अनि महामारीबाट जनतालाई जोगाउनु गठबन्धनको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको समेत बताउनुभएको छ । प्रतिनिधिसभाका बहुमत १४९ सदस्यहरूको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ’ देउवाले छलफलपछि जारी गर्नुभएको मन्तव्यमा भनिएको छ’ तसर्थ हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौं ।’
‘देशमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा अन्योल समाप्त गरी नेपाली जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने संकल्पका साथ हामीहरू राजनीतिक र कानुनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं । ‘सामाजिक न्याय, समावेशी लोकतन्त्र र कानुनी शासन हाम्रो लक्ष्य हो’ देउवाले भन्नुभयो, ‘यसका लागि आवश्यक परेमा जनपरिचालनमा समेत तयार छौँ ।’ उहाँले सरकारबाट भएका कतिपय संविधान र कानुनविपरीतका अलोकतान्त्रिक कार्यहरू अदालतको निर्णयबाट रोकिएको बताउनुभयो । राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानुनी शासन र समृद्धिलाई साझा गन्तव्यका रूपमा लिएको बताउनुभयो ।
ओलीजी वामपन्थी होइन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई वामपन्थी नभएको आरोप लगाउनुभएको छ । उहाँले सम्पादकहरूसँगको अन्तरक्रियामा यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले दक्षिणपन्थी शक्तिसँग मिलेर वामपन्थी सिध्याउन लागेको बताउनुभयो ।
‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिँडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिँड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उहाँले भन्नुभयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको उल्लेख गर्नुभयो । ‘कमसेकम राजाको सान त थियो,’ उहाँले भन्नुभयो । यस्तै, प्रचण्डले दीर्घकालीन रूपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहने बताउनुभयो । उहाँले गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको बताउनुभयो । विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने प्रचण्डको भनाइ छ । ‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरूलाई परेको अप्ठ्याराहरूमा हामी सँगै छौं । त्यसलाई गठबन्धनले साझा रूपमा लिन्छ’, उहाँले भन्नुभयो ।
यस्तै, प्रचण्डले विपक्षी दलहरूको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने प्रचण्डको भनाइ छ । ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रूपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, उहाँले भन्नुभयो ।
गल्ती सच्याएर आए ओलीलाई स्वागत गर्न तयार छौं : नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गल्ती र कमी-कमजोरीलाई सच्याएर आए ओलीलाई स्वागत गर्न तयार रहेको बताउनुभएको छ । सम्पादकहरूसँगको छलफलमा बोल्दै नेपालले मानिसबाट कहिलेकाहीँ गल्ती हुने भएकाले गल्ती स्वीकारेर ‘कोर्स करेक्सन’ गरेर आएको खण्डमा स्वागत गर्न तयार रहेको बताउनुभयो ।
उहाँले आफूहरू देश र जनताको हितको निम्ति दृढताका साथ अगाडि बढ्ने तर आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफूहरूको चिन्ता र चासो देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडि बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधीनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ । मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरि कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’
राष्ट्रपतिको भूमिका शंकास्पद र प्रश्नवाचक : यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भूमिका शंस्कास्पद र प्रश्नवाचक रहेको बताउनुभएको छ । अन्तरक्रियामा बोल्दै यादवले देउवालाई आह्वानमुताविक प्रक्रिया पु¥याएर दाबी पेश गर्दा पनि नियुक्ति नगर्नुले राष्ट्रपतिको भूमिका शंकास्पद र प्रश्नवाचक रहेको बताउनुभयो ।
यादवले राष्ट्रपतिले ओलीबाहेक अरूलाई प्रधानमन्त्री देख्नै नसक्ने व्यवहार देखाएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने उहाँको भनाइ थियो । ‘प्रधानमन्त्रीका लागि किन आह्वान गरियो र आह्वानमुताविक दाबी पेश गर्दा किन प्रधानमन्त्री नियुक्त गरिएन ? राष्ट्रपतिको भूमिका पनि प्रश्नवाचक र शंकास्पद छ,’ उहाँले भन्नुभयो, ‘कि त भन्नुपर्यो ओलीबाहेक अरूलाई प्रधानमन्त्री देख्नै सक्दिनँ भनेर, होइन भने प्रधानमन्त्रीको रूपमा नियुक्त नगर्नुपर्ने कारण नै छैन ।’
सर्वोच्च अदालतले संविधान, लोकतन्त्र र न्यायको पक्षमा फैसला गर्नेसमेत यादवको विश्वास छ । विघटन लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारिता लाद्नका लागि गरेको उहाँको ठहर छ ।
संसद् विघटनमा विदेशी शक्तिको चलखेल : भट्ट
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संसद् विघटनमा विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । अन्तरक्रियामा बोल्दै उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रूपमा फेरबदल भएको टिप्पणी गर्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्धको कदममा ०६२/६३ को जनआन्दोलनका सहयात्री दलहरू एक हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सामान्य प्रकारको घटनाक्रम होइन । भारतका कैयौँ कूटनीतिज्ञले खुल्ला रूपमा भनेका छन्, भारतीय जनता पार्टीको सरकार नेपालमा ओलीको सरकारसँग मिलेर राजतन्त्र र हिन्दुराज्य ब्युताउनको लागि प्रयास गरिरहेको छ । भारतविरुद्ध धेरै ठूलो जनमत नेपालमा सिर्जना भइराखेको छ । यसको बारेमा भारतीय जनता पार्टीको सरकारले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ । यसका पछाडि विदेशी शक्तिहरूको पनि हात छ । र विदेशी शक्तिहरू सँगको भेटघाट पछि नेपालमा अप्रत्याशित रूपमा नेपालमा ठूला-ठूला राजनीतिक घटनाक्रमहरू पनि घटेका छन् । प्रतिगमनलाई पराजित गर्नका लागि हिजो २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा भाग लिएका शक्तिहरू आज एक ठाउँमा आउनुपर्ने आवश्यकता छ ।’ उहाँले प्रतिगमनको विरोधमा पाँच राजनीतिक दलहरू एकैठाउँ उभिएपछि प्रतिगमन परास्त हुनेसमेत दाबी गर्नुभयो ।




















