कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार आउँदै।

काठमाडौं := नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार आइरहेको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले निशाले चलमलाउन र बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया दिन थाल्नु भएको छ ।

गत जेठ २७ गते नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको उद्धार गरेर उपचारका लागि अस्पताल लैजानु भएको थियो । उद्धार गरेर ल्याएको भोलिपल्टदेखि उचित उपचार, खानपिनलगायतले निशाको मुहारमा चमक देखिएको अस्पतालले जनाएको छ ।

उनको शरीरका घाउहरू निको हुन थालेको र स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताइएको छ । हाल नर्भिकले हिृवलचेयर थेरापी, म्युजिक थेरापीलगायत विभिन्न विधिबाट उपचार गरिरहेको छ । डा.पंकज जलान नेतृत्वको टिम निशाको उपचारमा संलग्न छ ।

डा.जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताउनु भएको छ । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकाले पूर्णरूपमा नर्मल हुने सम्भावना न्यून छ ।

डा.जलानका अनुसार आएको बेलाको तुलनामा घाउहरू निको हुन थालेका छन् । उहाँले भन्नुभएको छ, ‘हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरू प्रशस्त दिइरहेका छौं । हिजोबाट हिृवलचेयरमा बसाउन सुरु गरेका छौं ।’ निशाको अवस्थालाई उहाँले ‘जनरल कन्डिसन इम्प्रुभ’ भएको अवस्थाको रूपमा बुझ्न सकिने बताउनुभएको छ ।