फिलिपिन्समा कोरोना भाइरसविरूद्धको खोप लगाउन अस्वीकार गर्नेलाई कारागार चलान गर्ने।

एजेन्सी := फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरसविरुद्धको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान गर्ने चेतावनी दिनुभएको छ । राजधानी मनिलाका खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि राष्ट्रपति दुतुर्तेले यस्तो चेतावनी दिनुभएको हो ।

फिलिपिन्समा पछिल्लो समयसम्म १३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन् । फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले यसअघि नागरिकलाई खोप लगाउन आग्रह गरे पनि त्यो स्वेच्छिक हुने बताएका थिए ।

फिलिपिन्समा २१ लाख मानिसहरूलाई पूर्णरूपमा खोप लगाइएको छ । ११ करोड जनसंख्या भएको फिलिपिन्समा सरकारले सन् २०२१ को अन्त्यसम्म सात करोड मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।

खोप लगाउनेलाई सिंगैै कुखुरा

यता, इण्डोनेशियामा भने कोरोनाविरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएको छ । पश्चिमी जाभास्थित किआन्जर शहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि सुरु गरिएको हो ।

सो उमेर समूहका मानिस खोप लगाउन एकदमै हिचकिचाइरहेकाले यस्तो गर्नु परेको सहायक पुलिस कमिसनर गलिह अप्रिआ बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सुरुवातमा खोप आउँदा मानिसहरूमा एकदमै गलत जानकारी र भ्रामक सूचनाहरू फैलिएको थियो । विशेषगरी अनलाइन र सामाजिक सञ्जालमा त्यस्ता गलत सूचनाको प्रवाह व्याप्त भइसकेको थियो ।

यसमा ४५ वर्षमाथिकाहरू कोभिड–१९ विरुद्धको खोपले कोरोना भाइरसबाट जोगाउनुको सट्टा उल्टै उनीहरूलाई गम्भीर बिरामी पारेर मृत्युसमेत हुनसक्छ भन्ने सोचिरहेका थिए ।’ यही कारण त्यहाँको प्रहरीले निःशुल्क कुखुरा वितरणको अभियान सुरु गरेको हो ।