दश टोली युरोकपको अन्तिम १६ मा प्रवेश।

एजेन्सी := युरोपेली च्याम्पियनसिपमा मंगलबारसम्म १० टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । १६ वटा टोलीमध्ये समूहको शीर्षमा रहेको टोली र तेस्रो स्थानमा रहने चार टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् ।

जसमध्ये हालसम्म समूह ‘ए’ बाट तीन टोली इटाली, वेल्स र स्विट्जरल्याण्ड, समूह ‘बी’ बाट दुई टोली बेल्जियम र डेनमार्क, समूह ‘सी’ बाट दुई टोली नेदरल्याण्ड्स र अष्ट्रिया, समूह ‘डी’ बाट चेक रिपलब्लिक र इंग्ल्याण्ड, समूह ‘ई’ बाट स्वीडेन र समूह ‘एफ’ बाट फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । बुधबार रातिसम्म जारी रहने समूह चरणका खेलपछि बाँकी अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

सोमबार राति समूह ‘बी’ को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । बेल्जियमले फिनल्याण्डलाई २-० ले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४-१ ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गर्‍यो ।

बेल्जियमले तीन खेलमा नौ अंकका साथ शत प्रतिशत जितको नतिजा निकाल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । डेनमार्क, रसिया र फिनल्याण्डको समान तीन÷तीन अंक रहे पनि तीन टोलीबीच नतिजामा डेनमार्क राम्रो गोलअन्तरका साथ दोस्रो रहँदै नकआउट चरणमा प्रवेश गर्‍यो । फिनल्याण्ड तीन अंकका साथ तेस्रो स्थानमा छ र अन्य समूहको नतिजा कुर्नुपर्नेछ । रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

डेनमार्कले अब अन्तिम १६ मा वेल्सको सामना गर्नेछ । बेल्जियमले भने तेस्रो स्थान हासिल गर्नेमध्ये एक टोलीको सामना गर्नेछ । डेनमार्कले पहिलो खेलमा फिनल्याण्डसँग १-० र दोस्रो खेलमा बेल्जियमसँग २–१ को हार बेहोरेको थियो । अन्तिम खेलमा जित हासिल गर्दै अर्को खेलको नतिजा पनि अनुकूल आएपछि डेनमार्क अघि बढेको हो ।

समूह ‘ए’ र समूह ‘सी’ को सम्पूर्ण खेल समाप्त भइसकेको छ । समूह ‘ए’ बाट इटाली र समूह ‘सी’ बाट नेदरल्याण्ड्सले शत प्रतिशत जितको नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरिसकेका छन् ।

इटालीले अब अन्तिम १६ मा समूह ‘सी’ को दोस्रो स्थानमा रहेको अष्ट्रियासँग खेल्नेछ । अष्ट्रियाले सोमबार भएको खेलमा युक्रेनलाई १–० ले पराजित गर्दै पहिलोपटक नकआउट चरणको यात्रा तय गरेको थियो । अष्ट्रियाले तीन खेलमा दुई अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा तीन खेलमा नौ अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा रह्यो ।

अर्को खेलमा नर्थ म्यासेडोनियालाई ३-० ले पराजित गर्दै डच टोलीले समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो । तीन अंक जोडेको युक्रेन भने अब अन्य समूहको नतिजा कुरिरहेको छ । नर्थ म्यासेडोनिया पहिलो सहभागितामा अंकविहीन रहँदै घर फर्कनुप¥यो ।

अब नेदरल्याण्ड्सले अन्तिम १६ मा तेस्रो स्थान हासिल गर्ने टोलीको सामना गर्नेछ । कुन टोलीसँग खेल्ने भन्ने टुंगो बुधबार रातिको खेलपछि लाग्नेछ ।

यस्तै समूह ‘सी’ अन्तर्गत अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले क्रिस्टोफ बाउमगार्टनरको पहिलो हाफको गोलमा १-० को जित दर्ता गरेको थियो । खेलको २१औं मिनेटमा कप्तान डेविड अलाबाको असिस्टमा बाउमगार्टनरले निर्णायक गोल गर्नुभएको थियो ।

यस नतिजाले अष्ट्रिया अंकतालिकाको दोस्रो स्थानमा उक्लँदै अन्तिम १६ मा प्रवेश गरेको हो । अष्ट्रियाको तीन खेलमा ६ अंक तथा युक्रेनको तीन खेलमा तीन अंक छ । युक्रेन तेस्रो स्थानमा रहे पनि उत्कृष्ट चार टोलीको माध्यमबाट अर्को चरणमा अघि बढ्ने झिनो सम्भावना भने बाँकी छ ।

अष्ट्रियाले अब अन्तिम १६ मा इटालीको सामना गर्नेछ । इटाली समूह ‘ए’ को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । इटालीले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३० खेल अपराजित रहँदै कीर्तिमानसमेत बनाएको थियो ।

एक खेल बाँकी छँदै युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा स्थान पक्का गरिसकेको नेदरल्याण्ड्सले समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई सहजै पराजित गरेको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा डच टोलीले नर्थ म्यासेडोनियामाथि ३-० को सहज जित निकालेको हो ।

समूह ‘सी’ मा डच टोलीले तीन खेलबाट नौ अंक जोड्यो । डच टोलीसँगको हारसँगै पहिलोपटक ठूलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनिया अंकविहीन हुँदै समूह चरणबाट बाहिरियो ।