एजेन्सी := युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को शीर्षमा रहँदै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा आइतबार राति इटालीले वेल्सलाई १–० गोलअन्तरले अपराजित रहेर नकआउट चरणमा स्थान बनाएको हो । यता पराजित भए पनि गोलअन्तरका आधारमा अगाडि रहँदै वेल्सले पनि अन्तिम १६ मा स्थान बनायो ।
यही समूहको अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । वेल्स र स्विट्जरल्याण्डको समान चार/चार अंक भए पनि गोलअन्तरका आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो । वेल्समाथि जित हासिल गरेको इटालीले भने तीन खेलमा नौ अंक जोड्यो ।
वेल्सविरुद्धको खेलमा म्याटियो पेस्सिनाले खेलको ३९औं मिनेटमा गोल गर्दै इटालीलाई अग्रता दिलाउनुभएको थियो । उहाँले मार्को भेराट्टीको फ्रिकिकमा आएको बलमा गोल गर्नुभएको हो । ५५औं मिनेटमा इथान अम्पादुले बर्नार्डेस्कीले विपक्षी खेलाडीमाथि फल गरेपछि रातो कार्ड खाँदै बाहिरिनुप¥यो । त्यसपछि दश खेलाडीमा सीमित भएको वेल्स रक्षात्मक खेल्दा कुनै गोल हुन सकेन ।
यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेलमा अपराजित रहेको छ । अब अन्तिम १६ को एक खेल जितेमा नयाँ कीर्तिमान कायम गर्नेछ । यसअघि वेल्सले सन् १९३५ अक्टोबरदेखि सन् १९३९ जुलाईसम्म ३० खेलमा अपराजित रहँदै कीर्तिमान कायम गरेको थियो । उक्त कीर्तिमान भंग गर्ने अवसर इटालीका सामु यसपटक छ । सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय भोगेयता इटालीले लगातार ३० खेलमा हार व्यहोर्नुपरेको छैन ।
इटालीले अब अन्तिम १६ मा समूह ‘सी’ को उपविजेतासँग खेल्नेछ । इक्त खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ । समूह ‘सी’ मा युक्रेन र अष्ट्रियाको दोस्रो हुने सम्भावना रहेको छ ।
स्विट्जरल्याण्डको जित
यस्तै अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ को सम्भावना कायमै राखेको छ । स्विट्जरल्याण्डको जितका लागि जेर्डान शाकिरीको दुई तथा हरिस सेफेरोभिचले एक गोल गर्नुभयो । स्विट्जरल्याण्डले तेस्रो स्थानमा रहँदै अघिल्लो चरणको सम्भावना कायमै राख्दा टर्की भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
स्विट्जरल्याण्डले खेलको छैटौं मिनेटमा नै हरिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । स्टिभन जुबरको पासमा उहाँले गोल गर्नुभएको हो । २६औं मिनेटमा शाकिरीले स्विट्जरल्याण्डको अग्रता दोब्बर पार्नुभयो । ६२औं मिनेटमा इरफान च्यान काभेचीले टर्कीका लागि एक गोल फर्काउनुभयो । ६८औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्याण्डका लागि तेस्रो गोल गर्नुभएको थियो ।
यो समूह ‘ए’ बाट इटाली शत प्रतिशत जितसहित समूह विजेता र वेल्स समूह उपविजेताका रूपमा अघि बढ्दा टर्कीमाथिको जितसँगै स्विस टोली उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरण पुग्ने सम्भावना जीवितै रहेको छ । यसका लागि स्विस टोलीले अब समूह ‘डी’, ‘ई’ र ‘एफ’ को नतिजा कुर्नुपर्ने हुन्छ ।
इटालीले समूहमा नौ अंक जोड्यो । वेल्स र स्विट्जरल्याण्डको समान चार÷चार अंक भए पनि गोलअन्तरका आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । यसअघि वेल्स र स्विट्जरल्याण्डको खेल १–१ को बराबरीमा सकिएका कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो ।




















