एजेन्सी := भारतमा १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप दिइने महाअभियान सुरु गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेअनुसार १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाइने महाअभियान सोमबारबाट सुरु गरिएको हो ।
खोप महाअभियामा लाग्ने खर्च सबै केन्द्र सरकारले व्यहोर्नेछ । तर, निजी अस्पतालमा खोप लगाएमा तोकिएको शुल्क तिर्नुपर्नेछ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्नेछ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिनेछ । भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकालाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिलेमात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ ।
सरकारले यस वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन राखेको लक्ष्य अनुरूप सुरु भएको यो अभियानले जुन महिनासम्ममा ३० करोड नागरिकले लगाउने अनुमान गरिएको छ । भारतमा कोरोना भाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आफैं उत्पादन गर्दै बिक्रीवितरण हुँदै आएको छ । भारतमा दोस्रो लहरको कोरोना संक्रमणले जनजीवन अस्तव्यस्त बनाएको थियो । पछिल्लो समय संक्रमणदरमा केही कमी आएको छ ।




















