एजेन्सी := कोपा अमेरिका कप फुटबलमा कोलम्बियालाई पेरुले २-१ गोलअन्तरले स्तब्ध पारेको छ । स्टेडियो ओलिम्पिको गोइएस ब्राजिलमा सोमबार बिहान भएको खेलमा कोलम्बियालाई स्तब्ध पार्न पेरुका सर्जियो पेनाले गोल गर्दा एक गोल आत्मघाती भएको थियो । कोलम्बियाका मिगुइल बोर्जाले एक गोल फर्काउनुभयो ।
खेलको १७औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई १-० को अग्रता दिलाउनुभएको थियो । उहाँले रिवाउण्डमा आएको प्रहारलाई पोष्टको दिशा दिनुभएको थियो । ५२औं मिनेटमा कोलम्बियाले पेनाल्टीमार्फत् बराबरी गोल फर्कायो । गोलरक्षक पेड्रो गल्लेसेले पेनाल्टी बक्समा मिगुइल बोर्जालाई फउल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा बोर्जाले गोल गर्नुभएको थियो ।
६३औं मिनेटमा यारी मिनाले आत्मघाती गोल गरेपछि पेरुले पुनः खेलमा २–१ को अग्रता लियो । त्यसपछि खेलमा थप गोल भएन । यो जितपछि समूह ‘बी’ मा पहिलो जित हात पारेको पेरु दुई खेलबाट तीन अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलम्बिया तीन खेलबाट चार अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । ब्राजिल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । भेनेजुएला दुई अंकसहित चौथो स्थानमा रहँदा इक्वेडर एक अंक जोडेर पुछारमा रहेको छ ।
यही समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोल अन्तरको बराबरी खेलेका छन् । इक्वेडरका इडुअर प्रेसिएडो र गोन्जालो प्लाटाले गोल गर्दा भेनेजुएलाका इड्सन कास्टिल्लो र रोनाल्ड हर्नान्डेजले बराबरी गोल फर्काउनुभयो ।
खेलको ३९औं मिनेटमा इडुअर प्रेसिएडोले इक्वेडरलाई अग्रता दिलाउनुभयो । ५१औं मिनेटमा इड्सन कास्टिल्लोले जोस एन्ड्रेस मार्टिनेजको पासमा बराबरी गोल फर्काउनुभयो । ७१औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई पुनः २–१ को अग्रता दिलाउनुभएको थियो । तर, इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोनाल्ड हर्नान्डेजले इड्सन कास्टिल्लोको पासमा गोल गर्दै भेनेजुएलालाई हारबाट जोगाउनुभयो ।
यो बराबरीपछि भेनेजुएलाले तीन खेलबाट दुई अंक जोड्दा दुई खेल खेलेको इक्वेडरले पहिलो अंक जोडेको छ । ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।




















