१० लाख फुटबल प्रेमीलाई कोभिड-१९ विरुद्धको खोप लगाइने।

एजेन्सी := कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबल प्रेमीलाई कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप लगाइदिने भएको छ । खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने पनि कतार सरकारले बताएको छ ।

कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरूसँग छलफल भइरहेको बताउनुभएको छ । ‘हाम्रो प्रमुख लक्ष्य भनेको खोप नलगाएका मानिसलाई खोप लगाउँदै आफ्ना नागरिक र बासिन्दाको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नु हो,’ अल थानीले भन्नुभयो ।

‘फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकलाई कोरोना खोप लगाइसकेका हुनेछन् । यद्यपि केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकलाई खोप दिन सकेका हुँदैनन्, त्यस्तोमा कतारले उनीहरूलाई कोरोना खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेशको अनुमति दिँदैन,’ उहाँले थप्नुभयो ।

२०२२ को नोभेम्बर २१ देखि विश्वकप सुरु हुने कतारमा पछिल्लो समयसम्म दुई लाख २० हजार ८ सय कोरोना संक्रमित भएका छन् भने ५८५ को मृत्यु भएको छ ।