१४ औं महाविधेशन नजिकिएसँगै कांग्रेसमा सभापति बन्ने होडबाजी।

[ चिन्तन क्षेत्री ] 

पुस्तान्तरणको ढोका खुल्ला होला ?

काठमाडौं := उमेरले ७० कटे पनि नेतृत्वमा रहिरहने परिपाटी नेपाली राजनीतिक नेतृत्वमा अहिले पनि हाबी छ । प्रमुख राजनीतिक दलका प्रायः नेताहरूमा एकपटक शक्तिमा पुगेपछि अन्तिम समयसम्म पनि नछाड्ने प्रवृत्ति पनि छ । अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आउँदै गर्दा पुस्तान्तरणको बहस पनि छेडिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू फेरि सभापतिमा लड्ने बताएसँगै अन्य नेताहरू पनि भेटघाटमा व्यस्त देखिएका छन् । पटक-टक प्रधानमन्त्री र एक कार्यकाल पार्टीको नेतृत्व गरिसकेकाले देउवाले अब आफ्नो दाबी छाड्नुपर्ने नेताहरूको भनाइ छ । तर, आन्तरिक र बाह्य कारणले आफ्नो कार्यकालमा पार्टी कमजोर बनेकाले निर्वाचनमा एकपटक पहिलो शक्ति बनाएर विश्राम लिने चाहना देउवाको रहेको उहाँनिकट नेताहरू बताउँदै आएका छन् ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति टुंगो लगाएको छ । मिति टुंगिएसँगै अहिले नेतृत्वका लागि शीर्ष नेताहरूको दौडधुप बढेको छ ।

यसपटक विगत जस्तो दुई वा तीन जना मात्रै नभएर आधा दर्जन बढी नेताहरूले नेतृत्वका लागि आकांक्षा देखाएका छन् । देउवासँगै उपसभापति विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरूको दाबी सभापतिमा रहेको छ । यस्तै, १३ औं महाविधेशनमा पराजित रामचन्द्र पौडेललगायतका नेताहरूले औपचारिक रूपमा घोषणा नगरे पनि आकांक्षा भने रहेको बुझिन्छ ।

देउवालाई निधिको टक्कर  !

विगत लामो समयदेखि सभापति देउवाको साथमा रहनुभएका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा भने आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ । शनिबार देउवासँगको भेटमा निधिले आफू यसपटक सभापतिका लागि उठ्ने भएकाले सहयोग गर्न आग्रह गर्नुभएको थियो । विगत लामो समयदेखि आफूले निःशर्त सहयोग गर्दै आएकाले यसपटक आफूलाई साथ दिनुपर्ने निधिको भनाइ थियो । तर, देउवाले सभापति आफू पनि उठ्ने भएकाले सहयोग गर्न आग्रह गर्नुभएको थियो । एउटै समूहभित्रबाट देउवा र निधिको दाबेदारी हुने भएपछि तल्लो तहका नेता कार्यकर्ताहरू दुवै पक्षलाई मिल्न दबाब दिइरहेका छन् । विशेष गरी अहिले देउवाले नेत कार्यकर्ताहरूसँगको छलफल जारी राख्नुभएको छ । नेताहरूले निधिलाई मिलाउन नसके निर्वाचनमा पराजित हुने सम्भावना बढी भएकाले जुनसुकै अवस्थामा पनि समूहभित्र बेमेल हुन नहुने नेताहरूले बताउँदै आएका छन् । यता, निधिले पार्टीको दोस्रो तहका नेताहरूसँग छलफललाई तीव्रता दिनुभएको छ । सोमबार मात्रै निधिले पार्टीका महामन्त्री डा.शशांक कोइराला र पूर्व–महामन्त्री प्रकाशमान सिंहलाई आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । आफ्नै निवासमा छलफलका लागि डाकेर उहाँले दुवै जनालाई सहयोग गर्न आग्रह गर्नुभएको हो । उपसभापति निधिको आग्रहमा कोइराला र सिंह सकारात्मक देखिए पनि अवस्था हेरेर निर्णय गर्ने भन्दै फर्किनुभएको थियो ।

पौडेल पक्षलाई पनि छैन सहज

जुनसुकै परिस्थितिमा देउवा र निधि सभापतिका उम्मेदवार बने पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई महाधिवेशनमा नतिजा आफ्नो पक्षमा पार्न सहज भने छैन । पौडेल समूहबाट महामन्त्री कोइराला र पूर्व–महामन्त्री सिंहले समेत सभापतिको दाबी प्रस्तुत गरिरहनुभएको छ । देउवा र पौडेल मात्रै नभएर १३ औं महाधिवेशनबाट तेस्रो शक्तिको रूपमा पूर्व–महामन्त्री कृष्णप्रसाद सिटौला समूह उदाएको छ । सभापतिमा तेस्रो धारबाट सिटौलाको पनि दाबी पर्ने सम्भावना देखिन्छ । खासगरी आगामी महाधिवेशनमा देउवासहित पौडेल र नेता कृष्णप्रसाद सिटौला मुख्य उम्मेदवारको रूपमा देखिनुभएको छ । यद्यपि, पार्टीभित्र पुस्तान्तरणको सन्दर्भमा चर्चा हुन थालेदेखि निधि, कोइराला र सिंहको दाबेदारीलाई पनि कम आँक्न नसकिने कांग्रेसका नेताहरूको तर्क छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित हुनुभएको थियो ।

देउवा र निधिबीच सहमति हुने विश्वास

कांग्रेसका दोस्रो र तेस्रो तहका नेताहरूले देउवा र निधिलाई जुनसुकै अवस्थामा पनि मिलेर अगाडि बढ्न दबाब दिँदै आएका छन् । देउवाले आफ्नो समूहका नेताहरूसँग गरेको छलफलमा निधिलाई पनि मिलाएर सँगै लिएर अघि बढ्न सभापतिलाई सुझाव दिएका हुन् । बैठकमा सहभागि एक केन्द्रीय सदस्यले सबैलाई एकजुट भएर जानका लागि अझै समय रहेकाले सहमतिको सम्भावना रहेको बताउनुभयो । देउवानिवासमा छलफलपछि हामीसँग कुरा गर्दै उहाँले वार्ताबाट सहमति निस्किनेमा आफू विश्वस्त रहेकाले सोहीअनुसार सुझाव दिएको पनि बताउनुभयो ।

यता, निधिले संस्थापन इतरका नेताहरूसँगको छलफल तीव्र बनाउनुभएको छ । उहाँले सोमबार नै केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, दीपक गिरी, बद्री पाण्डे, सरिता प्रसाईं, प्रदीप पौडेल, गगन थापा र गुरुराज घिमिरेलगायतसँग छलफल गनुभएको छ ।

कुरा पुस्तान्तरणका 

पार्टीको महाधिवेशन नजिक आउँदै गर्दा अहिले पुस्तान्तरणको चर्चा पनि भइरहेको छ । दोस्रो तहका नेताहरूले जोडदार रूपमा नेतृत्व हस्तान्तरणका लागि दबाब दिँदै आएका छन् । उपसभापति निधिले पनि अहिले आफ्नो दाबेदारीको आधार नै पुस्तान्तरण भएको बताउनुभएको छ । १५ औं महाधिवेशनसम्म आफू र आफ्ना समकालीन नेताहरू ७० आसपास उमेर पुग्ने भएकाले आफ्नो दाबेदारी अहिले स्वाभाविक रहेको बताउनुभयो ।

७० कटेपछि पनि नेतृत्वका लागि दाबी गर्न राजनीतिक र परिवर्तित पार्टीको आन्तरिक लोकतन्त्रका लागि फाइदाजनक नभएकाले अहिले आफू सभापतिमा विजयी भएमा १५ औं महाधिवेशनमा युवापुस्ताका लागि बाटो खुल्ला हुने उहाँको भनाइ छ । पार्टीमा एउटै परिवारको विभिन्न पुस्ताहरूको वर्चस्व हुनु गर्वको कुरा भए पनि पुस्तान्तरण गर्न सकिएन भने पार्टीलाई निकास दिन र तीव्र गतिमा अगाडि बढाउन समस्या हुने निधिको भनाइ छ ।