एलिनाको जन्मदिन अनाथ बालबालिकासँग।

काठमाडौं := नेपाली सांगीतिक क्षेत्रमा केही वर्षयता अत्यधिक सुनिने स्वर हो, एलिना चौहान । सुरुवातमा चल्तिका गीतलाई आफ्नो स्वरमा युट्युबमार्फत सार्वजनिक गरेर चर्चामा आउनु भएकी एलिनाका अहिले आफ्नै हिट गीत थुप्रै छन् । ‘इन्स्टाको फोटो’गीतको कभर गाएपछि चर्चा पाउन थाल्नुभएकी एलिनाको गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र ?’ बोलको गीत अत्यधिक चर्चामा रहृयो । उक्त गीतले एलिनालाई सफल गायिकाको रूपमा स्थापित गराइदियो ।

एलिनाले गाएका दर्जनौं गीतमध्ये ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ दर्शक तथा श्रोताले मन पराएका गीत हुन् । यसैबीच आइतबार एलिनाले आफ्नो २३औं जन्मदिन मनाउनु भएको छ । एलिनाले कपनको बालुवाखानीमा रहेको नन्दा सिंहले सञ्चालन गर्दै आएको ‘अन्र्तदृष्टि नेपाल’ बालआश्रममा पुगेर मनाउनु भएको हो । उहाँले खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्दै अनाथ बालबालिकासँग जन्मदिन मनाउनु भएको हो ।