अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला नगर्ने संकेत।

एजेन्सी := अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला नगर्ने संकेत गरेको छ । अष्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला गर्न अष्ट्रेलियालाई हतार नभएको बताउनुभएको हो।

सिमाना खुला गर्नु कति ठीक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग परामर्श तथा छलफलहरू भइरहेको उहाँले बताउनुभएको छ । सिमाना अहिले नै खुला गर्न हतार गर्न नहुने सुझाब अधिकांश विज्ञ तथा सरोकारवालाले दिएकाले अझै केही समय सिमाना नखुल्ने उहाँले जनाउनुभयो।

विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरू पूरा गरेर हवाई यात्रुहरूलाई भने अष्ट्रेलियाले आवतजावत गर्न दिएको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाका बीचमा हवाई सेवा गत अप्रिलदेखि खुला गरिएको छ ।

तर, सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुला गर्न भने अस्वीकार गरिएको छ । कोरोनाभाइरसको महामारी अझै खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापार मन्त्री टेहानले बताउनुभएको छ।