काठमाडौं := सिन्धुपाल्चोकका बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा समिति गठन गरिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललगायत जनप्रतिनिधिको उपस्थितिमा शनिबार कलाकारहरूको समिति गठन भएको हो ।
उक्त भेलामा सिन्धुपाल्चोक गृहजिल्ला हुनुभएका कलाकारहरू कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटालगायतले सहभागिता जनाउनु भएको थियो । तत्काललाई राहतभन्दा दीर्घकालीन रूपमा व्यवस्थापनका लागि समिति गठन गरिएको कलाकार मल्लले जानकारी दिनुभयो ।
अभिनेता मल्लले भन्नुभएको छ, ‘समितिले कोष स्थापना गरी सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचना पुननिर्माणका लागि सहायता गर्नेछ । उहाँहरूलाई स्थायी रूपमा बस्ने व्यवस्थामा कलाकारहरूको पहल र प्रयास हुनेछ ।’ घरलगायत पुल र विद्यालयको पुनर्निर्माण लागि कलाकारहरूले औद्योगिक क्षेत्र, गैरआवासीय नेपाली र सम्पूर्णलाई सहयोगका लागि आवाहृन गर्ने मल्लको भनाइ छ । थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने मल्ले जानकारी दिनुभयो । अभिनेता मल्लको संयोजकत्वमा समिति गठन भएसँगै अभिनेत्री करिष्मा मानन्धरले १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।




















