अनुमति बिना भिडिओ सार्वजनिक गरेको भन्दै पोर्नहबविरुद्ध मुद्दा।

एजेन्सी := ३२ जना महिलाले चर्चित वेबसाइट पोर्नहबविरुद्ध मुद्दा दायर गरेका छन् । आफूहरूको अनुमतिविना भिडिओ सार्वजनिक गरेको भन्दै बलात्कार र यौन शोषण मामिलाका पीडित ३२ जना महिलाले पोर्नहबविरुद्ध मुद्दा दायर गरेका हुन्।

ती महिलाले उक्त वेबसाइटको प्यारेन्ट कम्पनी माइन्डगिकविरुद्ध ‘क्लासिकल क्रिमिनल इन्टरप्राइज’ सञ्चालन गरेको भन्दै संयुक्तरुपमा मुद्दा दायर गरेका छन्।

एजेन्सीका अनुसार बलात्कार, बालयौन दुव्र्यवहार, रिभेन्ज पोर्न (बदला लिनका लागि राखिने सेक्स भिडिओ) र सहमति विनाका यौन कार्यबाट कम्पनीले नाफा आर्जन गरिरहेको आरोपमा मुद्दा दायर भएको हो।

३२ जना पीडितहरूको तर्फबाट अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पीडितहरूको तर्फबाट कानुन व्यवसायी ब्रोन रुड्निकले मुद्दा दर्ता गर्नुभएको हो।

‘यो मुद्दा पोनोग्राफी हैन बरु यसले बलात्कारको मुद्दा आकर्षित गर्छ’ दायर गरिएको वयानमा उल्लेख छ । पीडितलाई क्षतिपूर्ति र आगामी दिनमा यस्तो हुन नदिन माग गर्दै मुद्दा दायर गरिएको हो । सो मुद्दामा आगामी दिनमा सहमतिमा तयार पारिएका भिडिओहरूमात्र पोष्ट गर्न माग गरिएको छ।