निषेधाज्ञाको मारमा नेपाली टेलिशृंखलाहरू।

काठमाडौं := नेपालमा विभिन्न टेलिभिजनमा प्रसारण भइरहेका टेलिशृंखलाहरू पछिल्लो समय सरकारले कोरोना भाइरसका कारण जारी गरेको निषेधाज्ञाले मारमा परेका छन् । विशेषगरी ठूलो संख्यामा कलाकार, प्राविधिक रहेर निर्माण भइरहेका टेलिशृंखला छायांकन गर्न नपाएपछि बन्द भएका छन् भने कतिपय जनतन छायांकन भइरहेका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिशृंखलामध्ये ‘मेरी बास्सै, भद्रगोल, हल्का रमाइलो’लगायत शृंखलाहरू दर्शकले अत्यधिक मन पराएका टेलिशृंखला हुन् । निषेधाज्ञा अघि छायांकन गरेका केही भाग प्रसारण भइरहेका थिए भने अब मेरी बास्सै र भद्रगोल बन्द हुने अवस्थामा छन् । यस्तै हल्का रमाइलो अहिलेसम्म ‘स्टक छायांकन’का भाग प्रसारण भइरहेका छन् । यस्तै हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएका दुई लोकप्रिय टेलिशृंखला ‘सक्कीगोनी’ र ‘जुठे’को प्रसारण बन्द भएको छ ।

विशेषगरी यी दुई टेलिशृंखलाहरूको छायांकनमा धेरै कलाकार तथा प्राविधिकसँगै छायांकनस्थल टाढा भएकाले छायांकन गर्न नसकिएको बताइएको छ । सक्कीगोनीका निर्देशक तथा लेखक कुमार कट्टेलले निषेधाज्ञा सकिएपछि टेलिशृंखलालाई निरन्तरता दिने बताउनुभएको छ । पहिलो चरणको कोरोनाको समयमा जारी निषेधाज्ञामा सक्कीगोनीको प्रसारण लामै समय बन्द भएको थियो । यता ‘जुठे’ पनि निषेधाज्ञाको समयमा केही भाग प्रसारण भइरहेको थियो ।

निषेधाज्ञा हुनुअघि छायांकन गरिएको ‘स्टक’ भाग प्रसारण गरिएको र अब छायांकन गर्न निषेधाज्ञाबीच सम्भावना नरहेकाले निषेधाज्ञा सकिएपछि छायांकन गरिने र प्रसारण गरिने निर्देशक, लेखक तथा कलाकार मरिचमान श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक बिषयवस्तुमा आधारित ‘जुठे’ मा अन्तरजातीय विषयलाई उठान गरिएको छ । विशेषगरी दलित जातिलाई बढी हेपिएको भन्दै विभिन्न विरोध तथा टिकाटिप्पणी चल्न थालेकाले यो विषयमा विज्ञहरूसँग छलफल गरेर आगामी दिनमा छायांकनमा जाने निर्देशक श्रेष्ठले बताउनु भएको छ ।

यस्तै अन्य टेलिभिजनमा प्रसारण हुँदै आएका टेलिशृंखला पनि निषेधाज्ञाले बन्द हुने अवस्थामा छन् भने कतिपय बन्द भइसकेका छन् । यस्तै युट्युबमार्फत सार्वजनिक विभिन्न सिरिज केही बन्द छन् भने केही घर भित्रभित्रै छायांकन गरिरहेका छन् । युट्युबमा लोकप्रिय बनेका सिरिज ‘कान्छी, भुन्टी, गाह्रो छ हो, बुहारी’लगायत सिरिज हालसम्म पूर्णरूपमा बन्द नभए पनि कठिन अवस्थामा छायांकन गरिरहेका छन् ।

‘गाह्रो छ हो’ का निर्देशक तथा कलाकार बेगम नेपालीले अहिलेसम्म जेनतेन छायांकन गरिएको र अझै निषेधाज्ञा थप भयो भने बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म म बस्ने नजिक नै छायांकन स्थल भएकाले केही कलाकार जम्मा भएर सुरक्षित तरिकाले छायांकन गरेका छौं । दर्शकले अत्यधिक मन पराइरहनु भएको छ, त्यसमाथि यो फ्री समयमा सिरियल झन् धेरै हेर्न रुचाउनु हुन्छ त्यसैले निरन्तरता दिएका हौं ।’

पछिल्लो समय नेपालमा टेलिशृंखला र युट्युब सिरिज निर्माणमा धेरैले जोड दिएको देखिन्छ । विशेषगरी युट्यबव सिरिजहरू दर्जनौं छन् । युट्युब भ्युजको आधारमा आम्दानी राम्रो हुने भएकाले युट्युबकै लागिमात्र सिरिजहरू निर्माण भइरहेका छन् । नेपालमा लोकप्रिय युट्युव सिरिजका एक भागमै सातामा १५ देखि ३० लाख सम्मले हेरेको पाइन्छ । नेपालमा सातामा दुईवटा युट्युब सिरिज सञ्चालन गरेर मासिक कम्तीमा ८ देखि १५ लाख रूपैंयासम्म आम्दानी गर्ने गरेको पाइन्छ ।