उरुग्वेलाई १-० गोलले हराउँदै अर्जेन्टिना शीर्षमा।

एजेन्सी := कोपा अमेरिका फुटबलमा उरुग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिना समूहको शीर्षमा उक्लिएको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई पराजित गर्दै उसका गुइडो रोड्रिग्वेजले निर्णायक गोल गर्नुभयो ।

खेलको १३औं मिनेटमा कप्तान लियोनल मेस्सीले उपलब्ध गराएको पासमा रोड्रिग्वेजले गरेको हेडर गोलमा परिणत भएको थियो । उहाँको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेल्नुभएको छ ।

पछिल्लो चार खेलमा अर्जेन्टिनाको यो पहिलो जित हो । पेरुलाई २-० ले हराएपछि अर्जेन्टिनाले चिलीसँग दुईपटक १–१ गोलको बराबरी तथा कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको थियो । उरुग्वेले भने पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । ब्राजिलसँग २-० ले पराजित भएपछि उरुग्वेले पाराग्वे र भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान चार अंक भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे तीन अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौं स्थानमा रहेका छन् ।

यस्तै शनिबार बिहान नै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १-० ले पराजित गरेको छ । यो चिलीको पनि पहिलो जित हो । चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १-१ गोलको बराबरी खेलेको थियो । बोलिभियाको यो लगातार दोस्रो हार हो । यसअघि बोलिभिया पाराग्वेसँग ३-१ ले पराजित भएको थियो ।

एरिना पान्टानल कुइवा, मान्टो ग्रासो ब्राजिलमा भएको खेलमा चिलीको जितमा पहिलो हाफमा बिन ब्रेरेटनले गरेको गोल नै निर्णायक बन्यो । खेलको १०औं मिनेटमा बिन ब्रेरेटनले गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाउनुभएको थियो । उहाँले इडुआर्डाे भार्गासको पासमा गोल गर्नुभएको हो ।

जितपछि समूह ‘ए’ मा चिलीको दुई खेलबाट चार अंक पुगेको छ । चिली समूहको दोस्रो स्थानमा छ । बोलिभिया अंकविहीन हुँदै पुछारमा छ । पाराग्वेको तीन तथा अर्जेन्टिनाको एक अंक छ । अब अर्जेन्टिनाले समूह चरणको तेस्रो खेलमा २२ जुनमा पाराग्वेसँग तथा उरुग्वेले सोही दिन नै चिलीसँग खेल्नेछ ।