युरोकप फुटबल: फ्रान्स र हंगेरी बराबरीमा रोकिए।

एजेन्सी:= युरोकप फुटबलको समूह ‘एफ’ अन्तर्गत शनिबार राती भएको फ्रान्स र हंगेरीबीचको खेल १–१ गोलको बराबरी भएको छ।

हंगेरीको एस्टाडियो लियोनमा भएको रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता घरेलु टिम हंगेरीले बनाएको थियो । तर खेलमा दुवै टीमले बराबरी गोल गर्दै समान अंक बाँडेका छन् ।हंगेरीका लागि पहिलो हाफको इन्जुरी समयमा अट्टिला फियोलाले सुरुवाती अग्रता दिलाएका थिए । तर हंगेरीको अग्रता धेरै समय टिक्न सकेन।

दोस्रो हाफको ६६ औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई बराबरीमा ल्याए । खेलमा दुवै टीमले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत गर्न सकेनन्।

बराबरी खेलेपनि पहिलो खेल जितेको फ्रान्स ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरी भने १ अंकसहित समूहको तेस्रो स्थानमा छ।