काठमाडौं:= नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । प्रदेश –१ का आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग देउवाले आफू आगामी महाधिवेशनमा उम्मेदवार बन्ने विचार गरेको भन्दै, सुझाव माग्नुभएको हो ।
‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेता मीन विश्वकर्माले बताउनुभयो, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलार्ई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’
साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको उहाँले बताउनुभयो । ‘सभापतिज्यूले पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउँछु भन्नुभयो,’ विश्वकर्माले भन्नुभयो ।
मुलुकको संकटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा म असफल भएर बीचमै छाडेको देखिन्छ’ देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भन्नुभयोे, ‘पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्रलाई संस्थागत गरी अर्कोपटक नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हन्छ भन्ने मैले महसुस गरेँ ।’
‘अब अधिवेशन गर्नुको विकल्प छैन । संविधानतः हामीले महाधिवेशन गर्नैपर्छ । कठिनाइका बाबजुद पनि महाधिवेशन गर्नैपर्छ, यसको तयारीमा लाग्नुहोस्,’ देउवाको भनाइ थियो ।
देउवानिकट केन्द्रीय सदस्यहरुले पनि विधानले दुई कार्यकालको सुविधा दिएकाले कुनै गम्भीर प्रकृतिको अवस्था नआएसम्म सभापतिको दाबी नछोड्न सुझाएका थिए ।
विहीबार शुक्रबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि देउवा आन्तरिक छलफलमा जुट्नुभएको हो । देउवाले १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका विजयकुमार गच्छदार र सुनील थापा समूहको समस्याबारे पनि चासो राखेको विश्वकर्माले बताउनुभयो । केन्द्रीय सदस्यहरुसँग देउवाले जिल्ला–जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो।




















