बलिउड स्टार सुनील शेट्टीलाई नेपाली चलचित्रमा अफर।

बलिउडका सुपरस्टार अभिनेता सुनील शेट्टीलाई नेपाली चलचित्रमा अभिनयका लागि अफर गरिएको छ । निर्देशक मुकुन्द भट्टले निर्माण गर्न थालेको नयाँ चलचित्र ‘एक्स ९–लेभल १’ का लागि सुनीललाई अफर गरिएको हो ।

एजेन्सी := करिब एक महिनाअगाडि शेट्टीसँग चलचित्रका बारेमा कुराकानी भएको निर्देशक भट्टले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘उहाँ चलचित्रलाई लिएर सकारात्मक हुनुहुन्छ । सम्भवतः चाँडै कागजी सम्झौता हुनेछ । दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एकहप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने छौं ।’

उहाँका अनुसार एक हप्तामा सुनील शेट्टीलाई करिब ४० लाख पारिश्रमिक तिर्नुपर्नेछ । तिहारपछि छायांकन सुरु हुने चलचित्रका लागि सुनिल नेपालमै आउने बताइएको छ । चलचित्रलाई नेटफ्लिक्समा रिलिज गर्न पहल गरिने भट्टले बताउनुभयो । चलचित्रको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादवप्रसाद पाठक रहनु भएको छ ।

‘एक्स ९’ मा नायकको अफर अभिनेता अनमोल केसीलाई गरिएको छ । अनमोल चलचित्र गर्न तयार रहेको र वर्कआउट गरिरहेको मुकुन्दले जानकारी दिनुभएको छ । यस्तै चलचित्रमा अनमोलसँगै सौगात मल्ल र पुष्प खड्काको अभिनय रहने बताइएको छ ।