इजरायलद्वारा प्यालेस्टाइनमाथि पुनः हवाइ हमला।

एजेन्सी := इजरायले प्यालेस्टाइनबाट भएको शंकास्पद बेलुन हमलापछि हवाई हमला गरेको छ । प्यालेस्टाइनी भूमिबाट गाजा क्षेत्रमा केही शंकास्पद बेलुन पठाएपछि त्यसको बदलामा इजरायलले हवाई हमला गरेको बताएको हो ।

इजरायलले गरेको हवाई हमलाका कारण गाजाको १० स्थानमा भीषण आगलागी भएको छ । बुधबार बिहानै भएको उक्त आक्रमणबाट कयौं स्थानमा विष्फोटनका आवाज सुनिएको जनाइएको छ । यो हमलासँगै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम तोडिएको छ भने मध्यपूर्वमा फेरि संघर्ष चर्कने अनुमान गरिएको छ ।

दुवै पक्ष मे २१ मा युद्धविराम गर्न सहमत भएका थिए । इजरायलमा नयाँ सरकार गठन भएलगत्तै पुनःहवाई हमाला सुरु भएको छ । इजरायलको सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी क्षेत्रमा आतंकवादी गतिविधि भइरहेको थियो । गाजापट्टीबाट जारी आतंकवादी गतिविधिलाई ध्यानमा राख्दै इजरायली सेना युद्ध सुरु गर्नेसहितका सबै अवस्थाका लागि तयार छ ।’

पछिल्लो आक्रमणमा मानवीय क्षति भएको वा नभएको भन्ने स्पष्ट हुन सकेको छैन । इजरायलमा हालै नयाँ सरकार बनेसँगै हमास र इजरायलबीचको यो पहिलो हिंस्रक झडप हो । गत महिनाको आक्रमणमा २५० जना प्यालेस्टिनी र १३ जना इजरायलीको ज्यान गएको थियो भने गाजामा बम आक्रमणबाट ठूलो संख्यामा धनमाल क्षतिग्रस्त भएको थियो ।

यहुदी समुदायले गरेको प्रदर्शनलाई प्यालेस्टिनीहरूले अत्यन्त निन्दनीय र खेदपूर्ण भनेका छन् । हमासले उक्त प्रदर्शनको प्रतिरोध गर्न प्यालेस्टिनी समुदायसँग अपिल गरेको छ । पूर्वी जेरुसेलमकै विवादलाई लिएर गत महिना ११ दिने युद्ध भएको थियो ।