एजेन्सी := जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको छ।
उक्त घटनापछि कोकको सेयर मूल्य प्रति कित्ता ५६.१० अष्ट्रेलियन डलर (५ हजार ६० रुपैयाँ) रहेकोमा रोनाल्डोसँगको पत्रकार सम्मेलनपछि सेयर मूल्य १.६ प्रतिशतले घट्दै ५५.२० अष्ट्रेलियन डलर (४ हजार ९७९ रुपैयाँ) पुगेको थियो।
उक्त मूल्य सामान्य घटेको देखिए पनि कोकाकोलाले करिब ५ अर्ब २० करोड अष्ट्रेलियन डलर (चार खर्ब ६९ अर्ब रुपैयाँ) रुपैयाँ गुमाएको छ।
हंगेरीसँगको खेलअघि भएको पत्रकार सम्मेलनमा ३६ वर्षीय रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै खानेपानीको बोतल हल्लाएका थिए।
प्रतियोगिताको ठूलो प्रयोजक कोकाकोला नै हो।
उक्त घटना सानो देखिए पनि कोकाकोलालाई भने ठूलो फाइनान्सियल हेडएक (टाउको दुखाई) बनेको छ। रोनाल्डोको घटनापछि कोकाकोलाले आधिकारिक प्रतिक्रिया जनाएको छ।

‘सबैजना आफ्नो रुची, स्वाद र आवश्यकताअनुसार पेय पदार्थको प्राथमिकता तय गर्न हकदार छन्,’ कोकाकोलाको वक्तव्यमा भनिएको छ।
खेलाडीहरुलाई हाम्रो पत्रकार सम्मेलन कक्षमा आउँदा पानीसँगै कोकाकोला र कोकाकोला जिरो सुगर दिने गरिएको कोकाकोलाका प्रवक्ताले भनेका छन्।
(एजेन्सीहरुको सहयोगमा)




















