गण्डकी प्रदेशमा पनि बाढी, पहिरो र डुवान: १४ घर बगायो,५० घर उच्च जोखिममा।

लमजुङ := गण्डकी प्रदेशका ११ जिल्लामा लगातार परेको वर्षाका कारण बाढी, पहिरोले घर, वस्ती र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको छ । सबैभन्दा बढी मनाङ, लमजुङ, म्याग्दीमा क्षति पुर्‍याएको छ । तीन दिनदेखि लगातार भइरहेको वर्षाले पानीले मनाङ सदरमुकाम चामे मंगलबार बिहानैदेखि डुवानमा परेको थियो भने लमजुङ र म्याग्दीमा पनि पहिरोले धेरै घर बगाएको छ ।

यहाँको दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्नुहन्छ, “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ।” एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।

त्यस्तै, पाँच÷छवटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताउनुभयो । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ ।

स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०/१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । “विगतमा पनि खोलामा बाढी नआएको  होइन तर यसरी आएको पहिलोचोटि नै हो”, वडाध्यक्षले भन्नुभयो । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताउनुभयो ।