‘म सबैभन्दा बढी कर तिर्ने अभिनेत्री हुँ’

एजेन्सी := बलिउड अभिनेत्री कंगना रनौतले आफू भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको दाबी गर्नुभएको छ । तर, पछिल्लो समय कर तिर्न नसकेको दुःखेसो पनि पोखेकी छन् ।

अघिल्लो आधा वर्षदेखिको कर तिर्न कंगना असमर्थ रहेको इण्डियन एक्स्प्रेसले उल्लेख गरेको छ । यद्यपि, बाँकी करमा सरकारले ब्याज लगाए पनि कुनै आपत्ति नभएको कंगनाले बताउनु भएको छ ।

इन्स्टाग्राम स्टोरीमा कंगनाले लेख्नुभएको छ, ‘म मेरो कमाइको अधिकतम ४५ प्रतिशत कर तिर्छु र म सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री हुँ । तर, कामहरू ठप्प भएकाले गतवर्षको आधा कर तिर्न सकिरहेको छैन । मेरो जीवनमा पहिलोपटक यस्तो भएको छ ।’

कंगना अगाडि लेख्नुहुन्छ, ‘कर तिर्न म ढिला भइसकेँ, सरकारले मेरो बाँकी करमा ब्याज लिइरहेको छ, यो कदमलाई म स्वागत गर्दछु ।’ कंगना बायोपिक चलचित्र ‘थालावी’ रिलिजको प्रतीक्षामा हुनुहुन्छ । यसका साथै ‘तेजस’, ‘मणिकर्णिका रिटन्सः द लिजेन्ड अफ डिडा’ र ‘धाकड’लगायत चलचित्र उहाँको पेन्डिङ लिस्टमा छन् ।