कोपा अमेरिकाका लागि ब्राजिलको टोली घोषणा।

काठमाडौं := कोपा अमेरिका फुटबलका लागि ब्राजिलले टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक टिटेले २४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण यसअघि कोलम्बिया र अर्जेन्टिनामा आयोजना हुने तय भएको थियो । कोरोना भाइरसको कारण यस संस्करणको प्रतियोगिता ब्राजिलमा सारिएको हो । कोरोनाकै कारण सन् २०२० मै आयोजना हुनुपर्ने कोपा स्थगित भएको थियो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने तय छ । ब्राजिलियन टोलीको गोलकिपरमा एलिसन, एडरसन, वेभेरटन छानिएका छन् । डिफेण्डरमा एलेक्स सान्ड्रो, डानिलो, एमरसन, रेनान लोडी, एडर मिलिटाओ, फेलिपे, मार्क्विन्होस, थियागो शिल्भा रहेका छन् भने मिडफिल्डरमा कासेमिरो, डुगलास लुइस, एभरटन रिबेइरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा टोलीमा समेटिएका छन् ।

यस्तै, फरवार्डमा नेयमार जुनियरसहित एभरटन, गाब्रीएल बारबोसा, गाब्रीएल जेसस, रिचार्लिसन, रोवर्टो फिर्मिनो, भिनिसियस जुनियर टोलीमा अटाएका छन् ।