काठमाडौं := पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल निकै सक्रिए छ । केही वर्षयता फेसबुक, युट्युव तथा टिकटकमा सामाजिक गतिविधिका भिडियो तथा तस्वीर निकै छिटो भाइरल हुन्छन् । सम्वेदनशील विषयवस्तु पनि सामाजिक सञ्जालमा यत्रतत्र भइरहेको देखिन्छ ।
एक महिनाअघिको छटनाको कुरा गर्दा चितवनमा सविता भण्डारीको शंकास्पद् मृत्यु भयो । ससुराको यौन उत्पीडन र हत्याको आरोप सविताको माइती पक्षको छ । मृत्युपछि सविताका संवेदनशील भिडियोहरू युट्युब र टिकटकमा भाइरल भइरहेका छन् । उनको पक्षमा हृयासट्याग ‘जस्टिस फर सविता भण्डारी’ ट्रेन्डिङमा छ ।
गत शनिबारमात्रै एक राउटे युवती बलात्कृत भएको घटना पनि युट्युबदेखि टिकटकमा चर्चाको विषय बनेको छ । यसैबीच अभिनेत्री वर्षा शिवाकोटीले यी कारुणिक घटनालाई युट्युबरले मसला बनाएर चर्तिकला देखाइरहेको बताउनुभएको छ । उहाँले सरकारलाई प्रश्न गर्नुभएको छ, ‘के यो देशमा साँच्चै न्याय मरिसकेको हो ?’
फेसबुक स्टाटसमार्फत् उहाँले राज्यको न्याय प्रशासनभन्दा युट्युबरहरूको ‘अपरेसन’ प्रभावकारी हुनु भनेको न्याय मर्नु समान भएको टिप्पणी गर्नुभएको छ । ‘अझ रमाइलोका लागि टिकटकमा लिपसिङको होडबाजी छ । घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं,’ उहाँले लेख्नुभएको छ ।
उहाँले अघि लेख्नुभएको छ, ‘न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रँदैनन् ? यस्तो कारुणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन् ।’ वर्षाले सबै मिलेर राज्यलाई दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ । ‘हामी सबै मिलेर राज्यलाई दबाब सिर्जना गरौं । व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ । युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पीडा होला ख्याल गरौं ।’




















