नेदरल्याण्ड्सको जर्जियामाथि ३–० गोलअन्तरको जित।

एजेन्सी := नेदरल्याण्ड्सले मैत्रीपूर्ण खेलमा जर्जियामाथि ३–० गोलअन्तरको जित हात पारेको छ । आइतबार राति भएको खेलमा नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गर्नुभयो ।

खेलको १०औं मिनेटमै मेम्फिस डिपाएले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । ५५औं मिनेटमा वाउट वेगह्रस्टले गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पार्नुभयो । ७६औं मिनटमा रायन ग्राभेनवर्चले गोल गर्दै नेदरल्यान्ड्सलाई प्रभावशाली जित दिलाउनुभयो ।

समूह ‘सी’ मा रहेको नेदरल्याण्ड्सले १४ जुनमा युक्रेन, १८ जुनमा अष्ट्रिया र २१ जुनमा नर्थ म्यासेडोनियाको सामना गर्नेछ । यता युरोकपमा स्थान बनाउन असफल जर्जियाले अब सेप्टेम्वरमा विश्वकप छनोटका खेल खेल्नेछन् । अर्को मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले रोमानियालाई १–० गोलअन्तरले पराजित गरेको छ । घरेलु टोली इंग्ल्याण्डको जितमा कप्तान मार्कुस रासफोर्डले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उहाँले ६८औं मिनेटमा गोल गर्नुभएको थियो ।

गत अक्टोवरमा बेल्जियमसँग १–० को हारपछि इंग्ल्याण्डको यो शतप्रतिशत छैटौ जित हो । यसक्रममा इंग्ल्यान्डले आइसल्यान्ड, सान मारिनो, अल्वानिया, पोल्याण्ड र अष्ट्रियालाई पराजित गरेको छ । अब युरोकपमा समूह ‘डी’ मा रहेको इंग्ल्याण्डले १३ जुनमा क्रोएसिया, १९ जुनमा स्कटल्याण्ड र २३ जुनमा चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ ।

गत मार्चमा विश्वकप छनोटमा नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेयता रोमानियाको यो लगतार चौथो हार हो । यसक्रममा रोमानियाले जर्मनी, अर्मेनिया र जर्जियासँग हार व्यहोरेको छ । युरोकपमा छनोटमा पर्न असफल रोमानियाले अब आगामी सेप्टेम्वरमा विश्वकप छनोट खेल्नेछ ।