काठमाडौं := नेपाली लेगस्पिनर सन्दीप लामिछाने इंग्ल्याण्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्न आयोजनास्थलसम्म जान पाउनुभएन । उहाँलाई उक्त प्रतियोगितामा सहभागिताका लागि गत मे २७ मा पुग्न आयोजकले जानकारी दिएको थियो । तर भिषामा आएको समस्याका कारण सन्दीपले उक्त प्रतियोगिता गुमाउनुभयो ।
सन्दीपको स्थानमा वोर्सेस्टरशायर ¥यापिड्सले स्पिनर इश सोधीमा टोलीमा अनुबन्ध गरिसकेको छ । सन्दीपले भने भिसा ढिला गरिदिइएका कारणले आफू प्रतियोगिता खेल्नबाट आफू वञ्चित भएको बताउनुभएको छ ।
उहाँले पासपोर्टमा भिसा पहिले नै लागि सकेको भए पनि शुक्रबारमात्रै पासपोर्ट दिइएका कारण आफू प्रतियोगिताबाट वञ्चित हुनुपरेका गम्भीर आरोप लगाउनुभएको छ । ‘मेरो भिसाको विषयमा लापरबाही कहाँबाट भयो ?’ सन्दीपले प्रश्न गर्दै भन्नुभएको छ, ‘मेरो पासपोर्टमा भिसा पहिले नै लागि सकेको रहेछ । मैले हिजोमात्रै पासपोर्ट पाए । त्यसमा भिसाा जारी मिति हेर्ने हो भने धेरै अगाडिको नै छ । मैले पासपोर्ट पाउन्जेलसम्म अत्यन्तै ढिला भइसकेको थियो ।’
सन्दीपले आफूलाई सम्बन्धित निकायले सहयोग असहयोग गरेको गुनासो पोख्नुभएको छ । बेलायतको क्रिकेट नेपालजस्तो देशका खेलाडीका लागि ठूलो अवसर भए पनि सम्बन्धित निकायको लापरबाहीले आफूले आवसर गुमाउनुपरेको सन्दीपले बताउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘म काउन्टी क्लबका लागि छनोट भएको थिए । त्यो मेरा लागि निकैनै खुशीको कुरा थियो । कुनै पनि खेलाडी वा एसोसिएट खेलाडीका लागि काउन्टी एक ठूलो प्लेटफम हो । तर, मलाई नै थाहा छैन । कहाँ के भइरहेको छ । हामी एसोसिएट खेलाडी, हामी नेपाली खेलाडीले थोरैमात्रामा अवसर पाउने गर्दछौ । हाम्रा लागि सानोभन्दा सानो अवसर ठूलो हुन आउछ । काउन्टी क्लब धेरै खेलाडीका लागि ठूलो अवसर हो । सम्बन्धित निकायको वेवास्थाले उक्त अवसर गुमेको छ ।’
सन्दीपले सहयोगका लागि आफूले सम्पूर्ण समस्यासहित दुई दिनअगाडि ट्वीट गरेको तर पनि सकैले सहयोग नगरेको बताउनुभएको छ । ‘कसैले सहयोग गर्छ कि भनेर दुई दिन अगाडि सबै समस्यासहित ट्वीट गरेका थिए । यतिबेला हाम्रो देशको अवस्था के छ र देशमा के भइरहेको छ त्यो मलाई थाहा छ । अहिले नेपालमा अवस्था निकै असहज छ । तर, यस्तो अवस्थामा पनि खेलाडीलाई कसैन कसैले सहयोग गरिदिएको भए हुने थियो,’ सन्दीपले भन्नुभएको छ ।
‘मलाई थाहा छैन पहिला पनि यी समस्या मैले भोग्दै आएको छु । मलाई थाहा छैन अरू कतिजनाले भोग्नुभएको छ । कति जनाले छैन्,’ सन्दीपले थप्नुभयो, ‘पछिल्लो समय म अमेरिकन दूतावासमा जाँदा अपमानित भएको थिए । मैले यी विषय कहिलै खुलेर भनिनँ । मलाई थाहा छैन्, कहिलेसम्म यस्तो हुने हो ।’
‘यसपटक पनि इंग्ल्याण्डको भिसा त्यस्तै भयो । भिसा लागि सकेको थियो । तर, पासपोर्ट भने नेपालमा ढिलो आइ पुग्यो,’ उहाँले दुखेसो पोख्नुभएको छ, ‘ढिला चाहिँ किन आयो । के कारणले गर्दा मेरो पासपोर्ट ढिला आयो । मलाई जहाँसम्म याद छ, थाहा छ भारतबाट प्लेन पनि आइरहेका थिए । त्यो समयमा हामी पासपोर्ट मगाउन सक्थ्यौ । तर, किन ढिला आयो अहिलेसम्म कसैले मलाई स्पष्ट जवाफ दिएको छैन ।’
सन्दीपले आफ्नो अगाडि आएको अवसर गुमाउँदा साह्रै दुःख लागेको बताउनुभएको छ । भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्याण्ड जाने हुनुभएको छ । सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका छ । सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने जानुहुनेछ ।




















