नेपाल सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम लाई छोड्न पहल गरिने।

काठमाडौं := सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको वार्ता टोली र सभाको तर्फबाट थरुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट गठन भएको वार्ता टोलीबीच ६ बुँदे सहमति भएको हो ।

सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ ।

जनताद्वारा बहुमतले निर्वाचित सांसद रेशमको अवस्था ।

यस्तै, आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई राहत एवं घाइतेहरूको उपचार र क्षति भएका विभिन्न धनजनको क्षतिपूर्ति दिने, प्राथमिक तहसम्म थारु भाषामा पठनपाठनको व्यवस्था गर्ने, थारुहरूलाई राज्यको हरेक तह र तप्कामा आरक्षणको व्यवस्था गर्ने, थारुहरूको विभिन्न समयमा उठाएका माग र भएका सहमतिलाई संविधान संशोधनको क्रममा छलफल गरी उपयुक्त निर्णय लिने सहमति भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ भने संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छ । समितिले लामो समयदेखि रेशम चौधरीको रिहाइलगायतका माग राखेर आन्दोलन गर्दै आएको थियो ।