एजेन्सी := विश्वभरिनै प्रख्यात अमेरिकी टायर निर्माता कम्पनी गुडईयरको मलेसिया स्थित कम्पनीले आफ्नो कम्पनीमा कार्यरत विदेशी श्रमिकको अवैधानिक रुपमा तलव कटौती, राहदानी कव्जा लगायतका विषयमा विवादमा,मुद्दा परेको छ।
सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलव भुक्तानी समेत गर्न बाँकी रहेको बेलायती सञ्चार संस्था रोयटर्सले समाचारमा उल्लेख गरेको छ। समाचार अनुसार सो कम्पनीलाई ओभरटाइम वापतको रकम श्रमिकलाई भुक्तानी नगरेको, अदालतमा मुद्दा हाल्ने श्रमिकलाई धम्की दिइएको, तलव कटौती लगायतका विषयमा मुद्दा परेको छ । रोयटर्ससँगको कुराकानीका क्रममा सो कम्पनीमा कार्यरत तथा पहिले काम गरेका ६ जना श्रमिकले कम्पनीले गलत रुपमा आफूहरुको तलव कटौती गरेको, धेरै समय काम गर्न बाध्य पारिएको तथा राहदानीमा पूर्ण रुपमा अधिकारबाट वञ्चित गरिएको जनाएका छन् । अदालत श्रोतले पनि यसको पुष्टि गरेको समाचारमा जनाइएको छ ।
श्रम विभागले पनि सो कम्पनीलाई सन् २०२० मा श्रमिकलाई कानूनले तोकेभन्दा बढी समय काममा लगाएको तथा विदेशी श्रमिकलाई थोरै ज्याला दिएको विषयमा कारवाही गरेको पुष्टि गरेको छ । सो कम्पनीमा काम गरेका एक श्रमिकले आफ्नो राहदानी गैरकानूनी रुपमा कम्पनीले कव्जामा राखेको बताएका छन् । उनले आफूले काम गरेको ८ बर्षपश्चात मात्र राहदानी फिर्ता पाएको पनि बताएको रोयटर्सको समाचारमा उल्लेख छ।

सो कम्पनी विरुद्द सन् २०१९ मा दुईवटा तथा सन् २०२० मा एक गरी तीनवटा मुद्दा अदालतमा परेका छन् । सो क्रममा १ सय ८५ श्रमिकले कम्पनी विरुद्द मुद्दा दायर गरेको जनाइएको छ । उनीहरुले आफूहरुले मलेसियाको श्रम कानून अनुसार पाउनु पर्ने सुविधा नपाएको भन्दै मुद्दा हालेका थिए ।
श्रमिकहरुको सो मुद्दामा स्थानीय अदालतले श्रमिकको पक्षमा फैसला गरेको पनि जनाइएको छ । अदालतको वेभसाइटमा प्रकाशित फैसलामा पनि विदेशी श्रमिकले स्थानीय मलेसियाली श्रमिकले पाउने सरह नै सुविधा पाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ । कम्पनीलाई श्रमिकको कटौति गरिएको तथा उपलव्ध नगराईएको रकम तत्काल भुक्तानी गर्न अदालतले आदेश दिएको श्रमिकहरुका तर्फबाट मुद्दा लडेका अधिवक्ताले बताएका छन् । अदालतमा प्रमाणका रुपमा पेश गरिएको पेस्लीपमा कतिपय श्रमिकले मासिक २ सय २९ घण्टासम्म अतिरिक्त समय काम गरेका थिए । मलेसियाको श्रम कानून अनुसार भनें मासिक १ सय ४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा लगाउन पाईंदैन ।
सो कम्पनीले आफूहरुलाई ५० लाख रिंगिट बरावर ठगि गरेको श्रमिकहरुले दावी गरेको श्रमिकका तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता चन्द्रा सेगरन राजेन्द्रनले बताएको रोयटर्सले लेखेको छ । सो कम्पनीमा नेपाल, म्यानमार तथा भारतका श्रमिक कार्यरत छन् ।
विश्वकै ठूलो मध्येको एक टायर उत्पादक कम्पनी गुडईयरले भनें अदालतको दुवै निर्णय विरुद्द उच्च अदालतमा पुनरावेदन गरेको छ । उच्च अदालतले आगामी जुलाई २६ मा निर्णय सुनाउने अपेक्षा गरिएको छ । यसैगरी श्रमिकले हालेको तेश्रो मुद्दाको फैसला आगामी साता हुने अपेक्षा गरिएको छ ।
गुडईयरले मानव अधिकार रक्षाका सन्दर्भमा कम्पनीको बलियो नीति तथा अभ्यास रहेको बताएको छ । रोयटर्सलाई ईमेलमा कुनै पनि देशमा रहेका कम्पनीले मानव अधिकार हनन गरे नगरेको विषयलाई गम्भीरतापूर्वक हेरिने भनेर कम्पनीले जवाफ दिएको समाचारमा उल्लेख छ ।
मुद्दा हालेका मध्येका एक शरण कुमार राईले श्रमिकहरुको डफ्फा अनुसार कम्पनीको नियम फरक हुने बताएका छन् । उनले सो कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका थिए । श्रमिकहरुले पहिलो मुद्दा सन् २०१९ को जुलाईमा हालेका थिए । त्यसपछि कम्पनीले मुद्दा हाल्ने श्रमिकहरुलाई आफूले मुद्दा फिर्ता लिने भनेर जवर्जस्ती सही गराएको थियो । त्यस विरुद्दमा प्रहरीमा उजुरी हालिएको थियो ।#Source:रोयटर्स





















