काठमाडौं:= कोभिड–१९ संक्रमण भएका उज्वल थापाको उपचारमा सहयाेग गर्ने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले गरेको प्रस्ताव परिवारले अस्वीकार गरेको छ ।
परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराउनुभएको हो।
यस्तै उहाँले उज्वल थापाको उपचारका लागि गोफन्डमीमा खोलिएको खातामा २६ लाख ५० हजार रुपैयाँ जम्मा भएको र सोही बाट उहाँको उपचार जारी राखिएको जानकारी दिनुभयो । उहाँले उपचारका लागि थप खर्च आवश्यक परेको खण्डमा पनि सोही प्रक्रियामार्फत उपचार गराउने बताउनुभएको छ ।
विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष एवं विवेकशील साझा पार्टीको पूर्व संयोजकसमेत हुनुभएका थापाको अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा दुई हप्तादेखि उपचार गराइरहनुभएको छ । यसैक्रममा उहाँको अहिले इसीएमओ प्रविधिबाट उपचार भइरहेको छ ।




















