
काठमाडौं:= नेपालबाट हालसम्म ४४ लाख ६६ हजार ९ सय ७३ जना युवायुवती वैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/०७८ अनुसार गत वर्षको फागुन मसान्तसम्म उक्त संख्यामा नेपाली संस्थागतरुपमा वैदेशिक रोजगारीमा गएका हुन् । त्यसमा पुरुष कामदारको संख्या ४२ लाख ४८ हजार ५ सय ४७ रहेका छ भने महिला कामदारको संख्या २ लाख १८ हजार ४ सय २६ रहेको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्या अत्यन्त न्यून देखिएको छ । यस अवधिमा संस्थागत अर्थात म्यानपावर कम्पनीबाट जम्मा ३३ हजार १ सय ६१ जना र पुनः श्रम स्वीकृतिका माध्यमबाट ५२ हजार २ सय ८९ जना वैदेशिक रोजगारीमा गएका छन् ।
यस वर्ष कतारमा ७ हजार २ सय ४७ जना, साउदी अरबमा ९ हजार ६१ जना, यूएईमा ८ हजार ७ सय २ जना, बहराइनमा १ हजार २ सय २ जना, ओमानमा ७ सय ६७ जना, दक्षिण कोरियामा १४ जना, अफगानिस्तानमा ६ सय ५२ जना, जापानमा ५ सय १३ जना, कुवेत, लेवनान र इजरायलमा एक एक जना र अन्य मुलुकमा ४ हजार ९ सय ८९ जना गरी ३३ हजार १ सय ६१ जना वैदेशिक रोजगारीमा गएका हुन् ।
हालसम्म कतारमा १२ लाख ५० हजार ९ सय ८ जना, मलेसियामा १२ लाख ५८ हजार ६ सय २९ जना, साउदी अरबमाा ९ लाख ४३ हजार ४ सय ११ जना, यूएईमा १ लाख ४९ हजार १ सय ८० जना, बहराइनमा ५६ हजार १ सय ७५ जना, ओमानमा ३७ हजार ५ सय ९७ जना, दक्षिण कारियामा ३८ हजार ७ सय ७४ जना, लेबनानमा १२ हजार ७ सय ५८ जना, इजरायलमा ६ हजार ७ सय १४ जना, अफगानिस्तानमा १३ हजार ९ सय ९० जना, जापानमा १० हजार ५१ जना र अन्य मुलुकमा ९७ हजार ८ सय ४ जना वैदेशिक रोजगारीमा गएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणले कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब ईमिरेट्स र कुवेत वैदेशिक रोजगारका प्रमुख गन्तव्य रहेको र पछिल्ला दिनमा साईप्रस, रोमानिया, माल्दिभ्स, माल्टा, जोर्डन, टर्की, जस्ता देशमा नेपाली युवाको आकर्षण बढेको उल्लेख गरेको छ ।
कतार र मलेसियामा २८/२८ प्रतिशत र साउदीमा २१ प्रतिशत :
प्रतिशतका हिसाबले कतार र मलेसियामा क्रमशः २८/२८ प्रतिशत, साउदी अरबमा २१ प्रतिशत, यूएईमा १४ प्रतिशत, कुवेतमा ३ प्रतिशत र अन्य देशमा ६ प्रतिशत नेपाली युवा युवतीहरु रोजगारीका लागि पुगेका छन् ।
हालसम्म ८ सय ८५ म्यानपावर कम्पनीले १ सय १० मुलुकमा वैदेशिक रोजगारीमा कामदार पठाउने गरेको सर्वेक्षणमा उल्लेख छ । ८ सय १८ कम्पनी सक्रिय र ४० कम्पनी निस्क्रिय रहेको पनि सर्वेक्षणले उल्लेख गरेको छ । नेपाली कामदार संस्थागतरुपमा १ सय १० मुलुकमा जाने गरेका भएपनि व्यक्तिगत प्रयासमा १ सय ७८ मुलुक पुगेका छन् । source:मध्याह्न डेलि



















