हेटौंडा:= बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ । एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका गृहमन्त्री समेत रहनु भएको रामबहादुर थापा बादललाई ३५ मत मतान्तरले देवकोटा विजयी हुनुभएको हो । बादलले मत १४८ मत प्राप्त गर्दा देवकोटाले भने १८३ मत प्राप्त गर्नुभएको थियो ।
स्थानीय तहबाट खसेको २३३ मत मध्येबाट डा. देवकोटालाई १२८, बादललाई १०३ र कृष्णबहादुर तामाङलाई २ मत खसेको थियो । त्यस्तै प्रदेश सभा सदस्यबाट खसेको मत १०५ मध्ये डा. देवकोटालाई ५८ मत, बादललाई ४५ मत र तामाङलाई २ मत खसेको थियो । खसेको मतको अंकभार गर्दा स्थानीय तर्फबाट डा. देवकोटालाई २३०४, बादललाई १८५४ र तामाङलाई ३६ मत खसेको हो । त्यस्तै प्रदेश तर्फमा डा. देवकोटालाई २७८४, बादललाई २१६० र तामाङलाई ९६ मत रहेको हो । निर्वाचित देवकोटा र बादलको मतान्तर ३५ रहेको छ जुन मतको अंकभार १०७४ रहन्छ ।
एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा उम्मेदवार हुनुहुन्थ्यो भने डा.देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल पक्षको समर्थन रहेको थियो । त्यस्तै नेपाल किसान मजदुर पार्टीको तर्फबाट कृष्ण बहादुर तामाङ उम्मेदवार बनेका थिए । मतदानका लागि प्रदेश सभा सदस्य ४ जना र स्थानीय तहका पाँच जना मतदाता उपस्थित भएका थिएनन् ।
विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान भएको थियो । विहान ९ बजेबाट सुरु भएको मतदानमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेश सभाका सदस्य, गाउँ÷नगरपालिकाका प्रमुख÷उपप्रमुखले मतदान गर्नुभएको थियो । मतदान केन्द्रमा उम्मेदवारहरु गृहमन्त्री राम बहादुर थापा (बादल), डा. खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङको उपस्थिती रहेको थियो ।
बागमतीमा राष्ट्रियसभाका लागि एमाले एक्लैको बहुमत रहेको थियो । तर देवकोटाले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा मत बाँडिएको देखिन्छ ।
बागमती प्रदेशमा एमालेको ५६ जना, माओवादी केन्द्रका २३ जना नेपाली कांग्रेसका २२ जना प्रदेशसभा सदस्य रहेका थिए । नेमकिपाका दुई, विवेकशील साझा पार्टीको ३ जना,राप्रपा २ जना, स्वतन्त्र १ जना सदस्य रहेका छन् । जसमा विवेकशील साझा पार्टीका तीन जना सदस्यले ‘नो भोट’ भनी मतदान गर्नुभएन भने नेकपा माओवादी केन्द्र तर्फका सदस्य हिमाली गोले अस्वस्थताका कारण उपस्थित हुनुभएको थिएन । एक सदस्यको भने केहिदिन अघि निधन भएको थियो । मतदान गर्न विद्यालयको पूर्वपट्टिको गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गरिएको थियो ।
यी हुन् अनुपस्थित मतदाता
राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।
अनुपस्थित रहनेमा प्रदेशसभा सदस्य तर्फ एकको निधन र ४ सदस्य र स्थानीय तहका छ जना प्रतिनिधि छन् । अनुपस्थित ४ प्रदेशसभा सदस्यमा विवेकशील साझाका रमेश पौड्याल, विराजभक्त श्रेष्ठ र शोभा शाक्य गरी तीनजना हुनु हो । सो पार्टीले मतदानमा सहभागी नहुने संस्थागत निर्णय गरेको थियो। यस्तै प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहनु भयो। उहाँ नेकपा माओवादी केन्द्रकी सांसद हुनु हो ।
स्थानीय तहतर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित, दोलखाका विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का अनुपस्थित रहनु भयो। उहाँहरु काँग्रेसका हुनु हो । यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, दोलखा मेलुङ्ग गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी पनि अनुपस्थित रहनु भयो । प्रजापति नेमकिपाका हुनु हो भने भण्डारी एमालेको हुनु हो ।




















