काठमाडौंमा निषेधाज्ञा १५ दिन थप,विवाह, ब्रतबन्ध र भोजमा जम्मा १० जना उपस्थित।

काठमाडौं:= कोरोना संक्रमणको दर बढ्दै गएसँगै काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ। आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नुभएको हो ।

जारी निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्म थप भएको छ।त्यस्तै बैठकले निर्माण सामग्री दिउँसोमा ल्याउन नपाइने निर्णय गरेको छ । त्यसैगरी राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ ।

बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा  बढी सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पु¥याइएको थियो ।