एजेन्सी := यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएकाे छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
नेपाली नागरिकसहित अब बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् ।नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् । तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् ।
यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।
त्यस्तै नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुवेतले पनि नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ । कुवेतको उड्डयन प्राधिकरण (ओडीजीसीए) ले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो । कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा उल्ल्ेख गरिएको छ ।
चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । कुनाका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयको सुझावमा उडानमाथि प्रतिबन्ध लगाउने निर्ढाय गरिएको हो ।




















