कोरोनाको बेला विदेशमा कार्यरत नेपालीहरुको स्वास्थ्य सुरक्षाप्रति नेपाली राजदूतहरुको चासो।

काठमाडौ:= ओमानल्थित नेपाली राजदूतावास मस्कटको संयोजनमा मंगलबार मध्यपूर्वका साथै पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र मलेसिया लगायतका मुलुकहरूमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा तत् तत् मुलुकहरूमा रहेका नेपाली राजदूतहरु र  उप-नियोग प्रमुखहरूको सहभागितामा एक वेबिनार कार्यक्रम सम्पन्न भएको छ ।

ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालक्वारा संयोजित सो कार्यक्रममा साउदी अरवका नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपूत, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्बाज, यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल, ईजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकारा लागि नेपाली राजदूत डा. निर्मल कुमार विश्वकर्मा र ईजिप्टस्थित नेपाली राजदूतावासका उप-नियोग प्रमुख (द्बितीय सचिव) श्दिपक घिमीरे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले आफू कार्यरत तथा सहप्रमाणीकृत मुलुकहरूमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि ती मुलुकहरूले चालेका प्रभावकारी कदमहरू तथा खोपको उपलब्धता र त्यसको प्रभावकारीताको सम्बन्धमा आ-आफ्ना अनुभवहरू आदान-प्रदान गर्नुका साथै नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा ती मुलुकमा रहेका नेपाली समुदायमा पर्ने प्रभावको सम्बन्धमा पूर्व सूचना, तयारी, उद्दार तथा राहत सम्बन्धमा आ-आफ्ना विचारहरू व्यक्त गरेका थिए ।

सो अबसरमा आफ्नो धारणा राख्दै राजदूत पाण्डेले ठुलो संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेका श्रम गन्तव्यहरूबाट स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्डहरू कडाइका साथ पालन गर्ने र गराउने गरी यथासक्य चाडो अन्तर्राष्ट्रिय उडान सुचारू गर्नका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने बताए।

त्यस्तै राजदूतद्वय  डा. भारद्बाज तथा डा. शाक्यले यात्रुहरूको निगरानी गर्न तथा कोभिड-19 को संक्रमणको रोकथामका लागि अवलम्बन गरिएका नियमहरूको पालना गराउन विभिन्न मुलुकहरूले प्रयोगमा ल्याएका मोबाइल एप्सहरू पनि महामारी नियन्त्रणमा सान्दर्भिक तथा प्रभावकारी देखिएकाले नेपालले पनि त्यस्तै प्रकारको एप्सहरू विकास गरी संचालनमा ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा राजदूत पराजुली ढकालले कोरोना भाइरस (कोभिड-१९ ) महामारी नियन्त्रणका लागि  प्रभावकारी उपायहरू अवलम्बन गर्दै अर्थतन्त्रलाई चलायमान बनाई राख्न आर्थिक कूटनीति संचालनको जिम्मेवारीलाई पनि साथसाथै अगाडि बढाउनु पर्नमा जोड दिँदै नेपालमा हरित हाईड्रोजन उत्पादनको सम्भावना र त्यसका  लागि वैदेशिक लगानी आकर्षित गर्न सकिने बताइन् ।

कार्यक्रममा सहभागीहरुबीच आगामी दिनमा आफू कार्यरत मुलुकमा कोरोना भाइरसको परिवर्तित प्रभाव र तहाँ कार्यरत नेपाली समुदायको स्थितिको बारेमा सूचना तथा जानकारी निरन्तर आदान-प्रदान गर्ने र सम्बन्धित मुलुकमा रहेका गैर-आवासीय नेपाली समुदाय लगायत विभिन्न नेपाली संघ संस्थाहरूसँग समन्वय गरी नेपाली समुदायलाई सुरक्षित राख्ने सम्बन्धमा आवश्यक कार्य गर्ने सम्बन्धमा छलफल भएको र राजदूत पराजुली ढकालले सहभागी राजदूत तथा प्रतिनिधिहरुप्रति वेविनार   सहभागिताका लागि समय व्यवस्थापन र आफ्ना अनुभवहरू आदानप्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको नेपाली राजदूतावास ओमानले जनाएको छ ।#मध्यानडेलि