भिख माग्नेलाई नियन्त्रण नगरिँदा बारामा बढयो कोरोनाको जोखिम।

[ संजीव कुमार मिश्रा ] 

बारा:= छिमेकी जिल्ला पर्सामा कोरोनाको संक्रमण बृद्धी भएपछि बिहिवार देखी बीरगंजमा निषेधाज्ञा जारी गरिएको छ । बाहिरबाट आउनेहरुलाई बीरगंजमा प्रवेश गर्न दिईएको छैन । अनावश्यक सडकमा निस्किने सर्वसाधारणलाई सुरक्षाकर्मीले निर्घात कुटपिट समेत गरेका छन ।

तर कानुनी रुपमा अवैध मानिने भिखमाग्नेहरुलाई नियमनकारी निकायले नियन्त्रण गर्न सकेको देखिदैन । भिक्षा माग्नेहरुबाट यहाका व्यापारी, पसले, यात्रु, सर्वसाधारण सबै परेसान मात्र भएका छैनन् । तिब्र रुपमा फैलिदै गएको कोरोना दिनभरी मागी डुलीरहने भिख माग्नेहरुबाट एकबाट अर्कोमा फैलिने जोखिम अहिले बढेको अगुवा नागरिकहरुले बताउनु भएको छ ।

भिक्षा माग्नेलाई नियमन गर्न कानुनी ज्ञानबारे धेरैलाई थाहा छैन। भिक्षा माग्नेलाई कानुनी कारवाही पनि भएको देखिदैन । कसैले खुशीले त कसैले बाध्यताले भिक्षा, दक्षिणा दिएर माग्ने व्यक्ती (मगन्ते) लाई फर्काई दिन्छन । पहिला भिक्षा माग्ने व्यक्तीलाई सजाय हुने कानुन कमजोर थियो ।

भिक्षा माग्ने विरुद्ध कसैले उजुर वाजुर गर्दैन । त्यसको फाईदा उठाउदै माग्ने व्यक्ती उम्कीने गरेका छन । प्रहरी प्रशासनले पनि कानुन कार्यान्वयन गर्ने तिर लागेको देखिदैन । विभिन्न चाड, धार्मिक अनुष्ठान, बिरामीको उपचारको बहानामा धेरैले स्वेच्छा वा बलजफ्ती भिक्षा वा चन्दा उठाउनाई कानुनले छोडदैन । अहिले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२६ मा भिक्षा माग्ने वा माग्न लगाउनेलाई कडा सजायको व्यवस्था गरेको छ ।

भिक्षा माग्ने भन्दा भिक्षा माग्न लगाउनेलाई बढी कसुरदार मानेर कानुनले बढी सजाय र जरिवानाको व्यवस्था गरेको जिल्ला न्यायधिवक्ताको कार्यालयले जनाएको छ ।
अहिलेको नया“ कानुनबारे न्याय सम्पादन क्षेत्रमा खटिने कानुन व्यवसायी, सुरक्षाधिकारी, सरकारी वकील लगायतलाई ज्ञानको अभाव रहेको छ । भिक्षा माग्ने वा माग्न लगाउने व्यक्तिलाई पनि अहिलेको कानुनबारे जानकारी नभएको कलैयाका कानुन व्यवसायी एकरामुल हकले स्पष्ट पार्नुभयो  ।

‘अहिलेको कानुनमा भिक्षा माग्ने भन्दा माग्न लगाउनेलाई कडा सजायको व्यवस्था छ,’ उहाँले भन्नुभयोे, ‘कानुन कडा बने पनि भिक्षा माग्ने विरुद्ध अहिले सम्म उजुरी परेको छैन ।’ भिक्षा माग्नेलाई नियमन गर्न पहिलाको कानुन भन्दा अहिलेको कानुनमा कडा सजायको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहा“का अनुसार, सार्वजनिक स्थानमा भिक्षा माग्ने, भिक्षा संकलन गर्न बालबालिकालाई गित गाउन लगाउने गतिविधी गर्नेलाई कानुनले बन्देज लगाएको छ ।
बालबालिकालाई ज्याला दिएर भिक्षा मगाउने चलन पनि बढदै गएको पाईन्छ । यस्ता क्रियाकलापलाई रोक्न कानुन आएको उहाँले स्पष्ट पार्नुभयो ।

पहिलो पल्ट भिक्षा (भिख) माग्नेलाई १ महिना सम्म कैद सजाय वा १ हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यही मानिस दोहो-याएर भिक्षा मागेको फेला परेमा प्रति पटक बढीमा २ हजार सम्म जरिवाना वा २ महिना सम्म कैद सजाय हुने व्यवस्था कानुनमा गरिएको छ ।
त्यस्तै बालबालिका, गरीबलाई प्रयोग गरेर भिक्षा (भिख) मगाउने व्यक्ती पहिलो पटक कसुरदार ठहरिएमा ती व्यक्तीलाई १ वर्ष सम्म कैद सजाय वा १० हजार रुपैया“ सम्म जरिवाना हुने कुननमा व्यवस्था गरिएको छ ।

सोही व्यक्ती दोश्रो पटक अरुलाई प्रयोग गरेर भिक्षा मगाएको फेला परेमा ३ वर्ष सम्म कैद सजाय वा ३० हजार रुपैयासम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको  जानकारी दिनुभयो । पर्सा, बारा, रौतहट लगायतका जिल्लामा भारतबाट भित्रिएका मानिस (मगन्ते)ले भिख माग्ने प्रवृति बढेको बारा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका कलैयाका प्रतिष्ठत व्यापारी संजय गुप्ताले बताउनु भयो । ‘बालबालिकालाई प्रयोग गरेर भिख मगाउने ठेकेदार छन,’ उहाँले भन्नुभयोे, ‘दैनिक ज्यालामा उनीहरुले भिख माग्न सडक बालबालिका खटाउने गरेका छन ।’ उनीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन चासो नदेखाएको उहाँले आरोप लगाउनुभयो ।

भिख माग्नेबाट पुरै बजारका व्यापारी, यहाँका सर्वसाधारण सबै परेसान छन् । भिख माग्नेलाई कानुनी सजायबारे सर्वसाधरणलाई जानकारी नहुदा अहिले सम्म उनीहरुले कानुनी उपचार नखोजेको उहाँले जानकारी दिनुभयो ।
भिख माग्न पसलमा आउने बालबालिका वा व्यक्तीलाई खाली हात फर्काउदा उल्टै अपशब्द समेत भिखमंगाले प्रयोग गर्ने गरेको कलैयाका किराना व्यवसायी श्याम प्रसाद साहले बताउनुभयो  । ‘आफ्नो पसलमा बहनी बट्टा भएको हुदैन, तर भिख माग्न आउनले भिक्षा दिनु पर्छ,’ उहाँले भन्नुभयो, ‘नदिए सराप्दै फर्किन्छन ।’ उनीहरुको सरापले अनिष्ट हुने डरले भिक्षा दिएर चुप लाग्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । भिखमंगाबाट आफु मात्र होईन । यहाका सबै व्यवसायी आजित बनेको उहा“ले गुनासो गर्नुभयो ।

भिख माग्न लागेको गुनासो अहिले सम्म जिल्ला प्रहरी कार्यालमा नआएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताउनुभयो । ‘भिख माग्न र भिख माग्न लगाउन पाईन्न,’ उहाँले भन्नुभयो, ‘भिख मागेको गुनासो पनि आएको छैन ।’ भिख मागेको फेला परेमा कानुनी कारवाही गरिने उहाँले बताउनुभयो । भिख माग्न आउने व्यक्तीबारे प्रहरीमा समयमै सुचना दिन उहा“ले सबैलाई आग्रह गर्नुभयो ।