निषेधाज्ञा आजदेखि थप कडा गरिँदै, नाका प्रवेश गर्दा पिसिआर रिपोर्ट चाहिने।

काठमाडौं := उपत्यकामा बिहीबार निषेध आदेश उल्लंघन गर्नेको संख्या बढेपछि शुक्रबारदेखि कडाइ गरिने भएको छ । सवारीसाधनको चहलपहल बाक्लो भएकाले निषेध आदेश कडा गर्ने तयारीमा उपत्यकाका प्रशासन कार्यालय जुटेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले शुक्रबारदेखि काठमाडौं प्रवेशका लागि कोरोना परीक्षण रिपोर्ट अनिवार्य चाहिने, पास वितरण कडाइ गरिने, छिमेकी जिल्लाबाट अत्यावश्यक कामबाहेक काठमाडौं प्रवेशका लागि अनुमति नदिइने र सरकारी सवारीसाधनमा जोरबिजोर लगाइने बताउनुभयो ।

पराजुलीले भन्नुभयो, ‘म आफैं अनुगमनमा निस्किएको छु । घर जान चाहनेलाई सहजीकरण गर्नुपर्ने, अत्यावश्यक काममा हिँडेकालाई सहजता तुल्याउनुपर्ने भएकाले तुलानात्मक रूपमा खुकुलो भएको हो ।’

त्यस्तै, छिमेकी जिल्लाबाट अत्यावश्यक कामबाहेक कुनै पनि सवारी र व्यक्तिलाई काठमाडौं नपठाउन निर्देशन दिइएको छ । अति जरुरी बाहेककालाई पास उपलब्ध नगराउन आग्रह गर्दै अब सामान्य सवारीलाई काठमाडौं प्रवेशमा पूर्ण रूपमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

अत्यावश्यक काममा पास नचाहिने : 

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ । बिहीबार सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो जानकारी गराएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले सूचना निकालेर अत्यावश्यक कामका लागि पास आवश्यक नपर्ने जानकारी गराउनुभएको हो ।

सूचनाअनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारीसाधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन ।