काठमाडौं:= उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ ।
बिहीबार निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले रंगशाला निर्माणका लागि राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका सम्बन्धमा छलफल गर्दै धुर्मुस–सुन्तली फाउन्डेशनले गरेको कामहरु प्रेरणादायी र प्रसंशनीय रहेको भन्दै प्रसंशा समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताउनुभयो । उपप्रधानमन्त्रीसँगको भेटपछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले आफु राज्यलाई सघाउने अभियन्ता भएको बताउनुभयो । रंगशाला निर्माणमा उपप्रधानमन्त्रीले चासो देखाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीे निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’
धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणका लागि अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेको जानकारी दिनुभयो । १३ करोड रुपैयाँ ऋणमा रहेको उहाँको भनाई छ । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उहाँले बताउनुभयो ।



















